March 16, 2025

राष्ट्रिय कविता महोत्सव : समावेशी चिन्तनमाथि बहस

राष्ट्रिय कविता महोत्सव : समावेशी चिन्तनमाथि बहस

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले समावेशिताको प्रयोग र उत्थानमा राष्ट्रिय कविता महोत्सवमा समावेशी चिन्तनको थालनी भएको बताए । प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका पूर्व सन्ध्यामा अध्येता भोगीराज चाम्लिङद्वारा लिखित ‘राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी’ विषयक अवधारणापत्र विमर्श कार्यक्रममा प्रतिष्ठानका कुलपति राईले समावेशी चिन्तनमाथि सार्थक बहस हुन थालेको बताएका हुन् ।

उनले कुनैकुनै विषयको संरचनात्मक निर्माणपछि त्यसको निरन्तरता मात्रै हुँदैन समय समयमा त्यसमा सकारात्मक ध्वंस भएर नै विकास हुने बताए । कुलपति राईले राष्ट्रिय कविता महोत्सवको ढाँचामा अहिले गरिएको परिवर्तनलाई यसरी नै हेर्नुपर्छ बताए ।

प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले समावेशितासहित नेपालमा बोलिने सम्पूर्ण मातृभाषाको संरक्षरण गरिने बताए । त्यस्तै स्वागत मनतव्यका क्रममा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपाली तथा मातृभाषामा रचिएका कवितालाई राष्ट्रिय कविता महोत्सव मार्फत समावेशीकरण गरी सबैको आत्मसम्मान र स्वत्व वृद्धिमा जोड दिने बताए । उनले आगामी वर्षदेखि साताव्यापी साहित्यिक महोत्सवको आयोजना गरी प्रतिष्ठानको वार्षिकोत्सव गराउने लक्ष्य बताएका छन् ।

प्रतिष्ठानका परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले नेपालका समग्र भाषाभाषीको सम्मानका लागि समावेशी स्वरूपको ‘राष्ट्रिय कविता महोत्सव’मा समावेशी चिन्तनको थालनी भएको र यसले सकारात्मक र नयाँ जागरणको भूमिका खेलेको बताए ।

अध्येता तथा मुन्धुमविद् भोगीराज चाम्लिङद्वारा प्रस्तुत अवधारणापत्र ‘राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी’माथि समालोचकद्वय ज्ञानु अधिकारी र गुरुङ सुशान्तले पूरक व्याख्या गरे ।

यसैगरी प्राज्ञसभा सदस्यद्वय भागवत आचार्य र प्रकाश तिवारी, भाषा आयोगका सदस्य गोपाल अश्क, उपप्रध्यापक विष्णु ज्ञवाली, अन्वेषक विक्रममणि त्रिपाठी, उदय लामा, प्रतापसिं राई नाछिरिङ, डा. सोमबहादुर धिमाल ,सज्जा दनुवार लगायतका सहभागीहरूले आफ्नो धारणा राखेका थिए ।

यस्तै नेपाल प्रज्ञाप्रतिष्ठानको ६६ ओैँ वार्षिकोत्सवका अवसरमा कुलपति राईले पुस्तक प्रदर्शनीको उद्घाटन गर्नका साथै वृक्षारोपण तथा सरसफाइ कार्यक्रमको समेत सुरुवात गरे ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content