कुमार दाहाल
लेखक र निर्देशक को हो ?
थाहा छैन चलचित्र तयार भएको छ
कथा र दृश्य पुरानै हुन
दर्शकको भीड लागेको छ
नाफा र घाटा त उत्कर्षले देखाउँछ
किनकी
अहिले मध्यान्तर भएको छ।
पात्रहरु फेरिन सक्छन्
कथा मोडिन सक्छ
विदूषकहरुको कृपा त हुन्छ नै
नघटेको घटना घट्न सक्छ
उत्कर्षको अनुमान पनि पर्खनै पर्छ
किनकि
भर्खर मध्यान्तर भएको छ
कोपिला लागेको फूल, नफूल्न सक्छ
राति नै आँधी आउन सक्छ
बिहानीको उमङ्ग त सबैलाई मनै पर्छ
रातमा
प्रकृतिले पनि सघाउन सक्छ
रात र दिन बुझ्नलाई
साँझमा केही पर्खनुपर्छ
किनकि
अहिले मध्यान्ह भएको छ
नायक र खलनायक छुट्टिएकै छैनन
भूमिका परिवर्तन हुन सक्छ
निर्देशककै हातमा छ चलचित्र
पात्रहरुलाई घात हुनसक्छ
दर्शकहरु न हुन, रस परिवर्तन हुन के बेर
आसु झर्न सक्छ, जुत्ता बर्सिन सक्छ
किनकि
अहिले मध्यान्तर भएको छ
कथा नबुझी ढुङ्गा हान्नु हुँदैन
आँसु झार्नु हुँदैन
पात्रलाई नलाग्न सक्छ
पर्दा च्यातिन सक्छ
आँसु रित्तिन सक्छ
थुप्रै चलचित्र हेर्न बाँकी नै छ
नयाँ कथा लेखिन सक्छ
जमाना आधुनिक छ
निर्देशक चिन्न बाँकी नै छ
कथाको भाषा र भेष पुरै नबुझी
रुनु, हाँस्नु, नाच्नु हुँदैन
दृष्टि र दृश्य हेर्न बाँकी नै छ
किनकि
अहिले भर्खर मध्यान्तर भएको छ ।