पोखरा, ६ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाज अवतरण भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान १३० जना यात्रु बोकेर पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।
चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सांसदहरू प्रदीप यादव, धवलशम्शेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशंकर चौधरी र जीवन परियार समेत सोही विमानमा पोखरामा आएका हुन् ।
यो जहाज पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर आएको हो ।
१ जनवरी २०२३ बाट सन्चालनमा आएको पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको हो । जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किने छ ।