काठमाडौं, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध दिवस नेपालीहरुको साझा दिवस भएको बताएका छन् । सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्धको जगमास्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताउँदै जनयुद्ध अधिकार, पहिचान, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस रहेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली रहेको बताएका छन् । उनले जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाली धर्तीमा सञ्चालित जनयुद्ध महान् र युगान्तकारी रहेको बताउँदै साहस, वीरता र उत्सर्गको त्यो ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवम् राष्ट्रियता प्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको दाबी गरेका छन् ।
वर्ग, जाति, लिंग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खालहरू भत्काएर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल जनयुद्धको परिणामस्वरूप उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको उनको भनाइ छ । उनले महान् जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताएका छन् । उनले भने मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदाय लगायत उत्पीडित वर्ग, जाति, लिंग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ’।
प्रधानमन्त्री प्रचण्डले सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको बताए । उनले युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली रहेको बताए । उनले भने ‘देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्ने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । त्यस्तै घाइते र अपाङ्ग योद्धाहरूमा स्वास्थ्यलाभको शुभेच्छासहित दीर्घजीवनको कामना गर्दछु ।’