ओखलढुंगा । ओखलढुंगा प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ । सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका नेता बाबुराम गौतम उम्मेदवार छन् भने एमालेबाट ज्ञानबहादुर खड्का प्रतिस्पर्धामा उत्रिएका छन् । गौतम र खड्का दुवै पहिलो पटक प्रदेश सभाको उम्मेदवार हुन् ।
गौतम एक दशकदेखि भूगोल राजनीतिमा सक्रिय नेता हुन् । खड्का भूगोलका लागि नयाँ हुन् । खड्का २०७४ को स्थानीय तह निर्वाचनमा सुनकोशी गाउँपालिका प्रमुख पदमा पराजित भएका थिए ।
यस क्षेत्रका चार स्थानीय तहका सबै प्रमुख र २ तहमा उपप्रमुख कांग्रेसले जितेको छ । एमालेले २ तहका उपप्रमुख र केही वडा जितेको छ । माओवादीले २ वडा मात्र जितको छ । गौतम कांग्रेसको भरमा चुनाव लड्का छन् । तुलनात्मक रुपमा एमालेको संगठन बलियो भए पनि गौतमलाई पुन कांग्रेसको साथ रहेको छ ।
गौतम राजनीतिक जीवनमै पहिलो पटक उम्मेदवार बनेका हुन् । उनी ०५२ फागुन १ गते माओवादी जनयुद्ध घोषणा हुँदा घोषित रुपमा भूमीगत भई माओवादी हुने जिल्लाका तीन नेता मध्ये एक हुन् । उनी स्वच्छ छवि भएका नेताको रुपमा चिनिन्छन् ।
खड्का र गौतम दुवैको एजेन्डा जिल्लाको पश्चिमी भुभागको विकासमा परिवर्तन ल्याउने छ । अहिलेपनि पश्चिमका जनता सदरमुकाम आउनु तीन जिल्ला घुम्नुपर्ने बाध्यतामा छन् । गठबन्धनका उम्मेद्वार गौतमले आफू निर्वाचित भएमा यी समस्यालाई स्थायी रुपमा समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
एमालेका ज्ञानबहादुर खड्काले अघिल्लो कार्यकालमा माओवादी निर्वाचित हुँदा कुनै विकास हुन नसकेकोले आफू निर्वाचित भएमा विकासमा कायापलट गर्ने प्रतिबद्धता जनाएका छन् ।