काठमाडौं । वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता हुनेछ । निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले वैशाख ११ गते र १२ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म आ–आफ्नोे मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरेको बताएको हो ।
वैशाख १२ गते नै मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका रहेको आयोगले जानकारी दिएको छ ।
वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिनेछ ।
१५ वैशाखमा मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ । १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।