काठमाडौं । खुमलटार युथ क्लब पहिलो पटक ए डिभिजनमा बढुवा भएको छ । बी डिभिजन लिग अन्तर्गत खेलमा आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सामाजिक युथ क्लबलाई २–१ ले पराजित गर्दै खुमलटार पहिलो पटक ए डिभिजनमा उक्लेको हो ।
खुमलटार युथका लागि खेलको १४ औं मिनेटमा सविनको गोलमा खुमलटारले सुरूआती अग्रता लिएको थियो । पहिलो हाफसम्म १–० ले पछि रहेको सामाजिकले ५७ औं मिनेटमा सुरेश खत्रिले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
खेलको इन्जुरी समयमा सामाजिकका विकास लिम्बुले आत्मघाती गोल उपहार दिएपछि खुमलटारले खेल २–१ को जितेको हो ।
२०६१ सालमा स्थापना भएको खुमलटार पहिलो पटक ए डिभिजन लिगमा उक्लिएको हो ।
खुमलटारले लिगमा १३ खेलबाट २२ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । समान अंक रहे पनि रानीपोखरी कर्नर टिम (आरसिटी) हेड टु हेडमा खुमलटारसँग पछि प¥यो ।
यसअघिनै बी डिभिजन च्याम्पियन बन्दै चर्च ब्वाइज युनाइटेड ए डिभिजनमा बढुवा भइसकेको छ । उसले २९ अंक जोड्यो ।
१४ टोली सहभागी बी डिभिजन लिगबाट शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा भएका हुन् भने पुछारका दुई क्लब सी डिभिजनमा घटुवा भएका हुन् ।