May 15, 2025

ईश्वर रिजाल ‘सुशील’को दुई कृति ‘कठिन यात्रा’ र ‘मुक्तिको खोजी’ लोकार्पण

ईश्वर रिजाल ‘सुशील’को दुई कृति ‘कठिन यात्रा’ र ‘मुक्तिको खोजी’ लोकार्पण

काठमाडौँ । लेखक तथा जनता समाजवादी पार्टीका नेता ईश्वर रिजाल ‘सुशील’को २ कृति एकसाथ लोकार्पण भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘मुक्तिको खोजी’ र ‘कठिन यात्रा’ नामक कृतिहरू लोकार्पण भएका हो ।

रिजालले ‘मुक्तिको खोजी’मा माओवादी जनयुद्धको समयमा घटेका घटना, जनमुक्ति सेना भएर जनयुद्धमा आफूले भोगेका, जेल जीवन, लडाइँका अनुभूतिहरू समेटेर पुस्तकको रूपमा पाठकसम्म पुर्याएका छन् ।

टिप्पणीकारहरूले यस कृतिलाई युद्ध साहित्य भनेका छन् भने नेपालको शासन प्रणाली र परिवर्तनहरू यही क्रान्तिले सम्भव तुल्याएका हुँदा यो कृतिले क्रान्तिको घटनाक्रमलाई जीवन्त बनाउने तर्क गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री एवं जसपा नेपालको अध्यक्ष डा. बाबुराम भट्टराईले दुवै कृतिहरुको प्रशंसा गर्दै उत्कृष्ट रहेको बताए । उनले कृतीहरु युद्ध साहित्य नभनेर क्रान्ति साहित्य भन्नु पर्नेमा जोड दिएका छन् ।

यो पुस्तक पाठकलाई केवल मनोरञ्जन दिन नक्कली पात्र खडा गरेर लेखेको नभई वास्तविक घटनाक्रम र पात्रहरूले वास्तविक रूपमा भोगेका भोगाई भएकाले क्रान्तिको समयमा घटेका सनसनीपूर्ण घटनाहरूलाई सरल र रोमाञ्चक ढङ्गले प्रस्तुत गरिएको छ ।

त्यसैगरी अर्को कृती ‘कठिन यात्रा’ मा रिजालको बाल्यकालदेखि आजसम्मको जीवनको भोगाई समेटेर पाठक समक्ष प्रस्तुत गरेका छन् । पुस्तक अध्ययन पश्चात् धेरैले आफूले भोगिरहेको अप्ठ्यारो परिस्थितिबाट प्रेरणा लिएर अगाडी बढ्न हौसला मिल्ने उनले बताए ।

लोकार्पण कार्यक्रममा जसपाका संघीय अध्यक्ष डा. भट्टराई, पूर्वशिक्षामन्त्रि एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता दिननाथ शर्मा, नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजाल लगायत अन्य नेता, लेखक, बुद्धिजीवीको उपस्थिति रहेको थियो ।

पुस्तक लोकार्पण कार्यक्रम समाजवादी सांस्कृतिक महासंघद्वारा आयोजित गरिएको थियो ।

सम्बन्धित खबरहरु