September 29, 2026

भगवान खुसी पार्न शरीरमा प्वालै प्वाल

भगवान खुसी पार्न शरीरमा प्वालै प्वाल

मलेसियामा तमिल समुदायहरुले थइपुसम नामक पर्वमा भगवान मुरुगनलाई खुसी पार्नका लागि भन्दै भक्तजनले आफ्नो शरीरमा तिखो सुइरोहरुले खोपेर सयौँ प्वाल पार्दछन् । मलिसियामा यो पर्व निकै धुमधामसँग मनाउँदछन ।
भगवान मुरुगनका भक्तहरुका लागि यो पर्व सबैभन्दा महत्वपूर्ण पर्व हो । दक्षिण भारत, श्रीलंका र सिंगापुरमा समेत यो पर्व मनाइन्छ । तर मलेसियाको राजधानी क्वालालम्पुर नजिकै पर्ने बातु गुफामा मनाइने थइपुसम पर्व सबैभन्दा विशेष हुन्छ ।
उक्त क्षेत्रमा सन् १८९२ देखि थइपुसम पर्व मनाउने गरिएको हो । हरेक वर्षको सुरुआतमा करिब १५ लाख श्रद्धालुहरु पर्व मनाउनका लागि केही दिनकै लागि उक्त ठाउँमा पुग्ने गर्दछन् ।
उक्त उत्सवका बेला हजारौँ मानिसहरु ढोलक तथा बाजा बजाएर नाचगान गर्दछन् र गुफातर्फ अगाडि बढ्दछन् ।
गुफाको तल बनेको मूख्यद्वारबाट भित्र पसेर उनीहरुले भगवान मुरुगनको मूर्तिको दर्शन गर्दछन् र त्यसपछि २ सय ७२ वटा सिँढी चढेर गुफाको भित्र बनेको मन्दिरमा जान्छन् ।
यो पर्वका बेला कतिपय भक्तजनले ४८ दिनसम्म उपवास तथा पुजापाठ समेत गर्दछन् । केही श्रद्धालुहरुले अर्ध गोलाकार फ्रेममा रहेको तिखा किलायुक्त वाण बोक्दछन् अनि त्यसका तिखा किलाहरु आफ्नो सरीरमा घुसाउँछन् । अरुले हेर्दा निकै दर्दनाक लाग्ने यो दृश्य श्रद्धालुहरुका लागिचाहिँ उक्त पर्वको मूख्य र पवित्र हिस्सा हो ।

केही श्रद्धालुहरुले चाहिँ शिरमा दुधको भाँडो लिएर परिक्रमा गरिरहेका हुन्छन् भने कतिपयले शिर मुण्डन गरेर प्रार्थना गर्दछन् ।
एजेन्सीबाट

सम्बन्धित खबरहरु

भर्खरै