१५ भदौ, काठमाडौ । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत उनको सोमबार निधन भएको हो ।
मुखर्जीको निधनको जानकारी दिँदै उनका छोरा अभिजीत मुखर्जीले ट्वीटमा भनेका छन् गह्रौं हृदयका साथ यो सूचित गर्दछु कि आरआर अस्पतालका डाक्टरहरुको अधिकतम प्रयास तथा भारतभरिका जनताका प्रार्थना र शुभेच्छाका बाबजूद मेरा बुबा श्री प्रणब मुखर्जीको निधन भएको छ ।
उनको फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भिर बन्दै गएको थियो । हालसालै मात्र मस्तिष्कको अप्रेसन गरिएका मुखर्जीको कोरोना भाइरस पोजेटिभ फेला परेको थियो ।
सन् २०१२ मा भारतका राष्ट्रपति बनेको मुखर्जी २०१७ सालसम्म आफ्नो पूर्णकाल राष्ट्रपति रहेका थिए । उनलाई सन् २०१९ सालमा भारत रत्नले सम्मानित गरिएको थियो ।
उनको जन्म सन् १९३५, ११ डिसेम्बरमा पश्चिम बंगालको मिराती गाउँमा भएको थियो । कलकत्ता विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा एमए गरेका उनी १९६३ मा कोलकोत्तामा विद्यानगर कलेजमा राजनीति शास्त्रको प्रध्यापक समेत भएका थिए ।
१९६९ देखि राजनीतिक यात्रा सुरु गरेका उनलाई इन्दिरा गान्धीले भारतीय काँग्रेसमा प्रवेश गराएकी थिइन् । मुखर्जी १९६९ समा राज्यसभामा निर्वाचित भएका थिए । त्यसपछि १९७५, १९८१, १९८३ र १९९९मा राज्यसभामा लगातार निर्वाचित भएका थिए । त्यसपछि उनी लगातार विदेश, वित्त, रक्षामन्त्री समेत भए । एजेन्सी सहयोगमा
