October 23, 2026

एनपीएल आधिकारिक प्रत्यक्ष प्रसारण हिमालय टिभीलाई

एनपीएल आधिकारिक प्रत्यक्ष प्रसारण हिमालय टिभीलाई

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आधिकारिक प्रत्यक्ष प्रसारण अधिकार हिमालय स्पोर्ट्स (हिमालय टिभी) ले कीर्तिमानी मूल्यमा प्राप्त गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) को कार्यालयमा सोमबार खोलिएको बोलपत्रमा हिमालय स्पोर्ट्सले करसहित १७ करोड २४ लाख रुपैयाँको प्रस्ताव गरेपछि एनपीएलको प्रसारण अधिकार उसको हातमा पुगेको हो । करबाहेक यो रकम १४ करोड ५६ लाख रुपैयाँ हुन्छ।

हिमालय स्पोर्ट्सले कबोल गरेको रकम गत वर्षको प्रसारण अधिकार मूल्यभन्दा पाँच गुणाभन्दा बढी हो भने यस वर्ष क्यानले तोकेको न्यूनतम बोलकबोल रकमभन्दा झण्डै साढे दुई गुणा बढी रहेको छ।

प्रसारण अधिकार हात पारेपछि हिमालय स्पोर्ट्सले एनपीएल यति ठूलो लगानीको योग्य प्रतियोगिता बनेको भन्दै नेपाली क्रिकेटको विकासप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धता रहेको जनाएको छ।

कम्पनीका अनुसार एनपीएलको बढ्दो व्यावसायिक मूल्यले नेपालमा खेलकुद प्रतियोगितालाई व्यावसायिक र दिगो रूपमा अघि बढाउन सकिने सम्भावना देखाएको छ। प्रतियोगितामा बढ्दो लगानीले नेपाली क्रिकेटको समग्र इकोसिस्टमलाई बलियो बनाउन, थप स्रोतसाधन जुटाउन तथा खेलाडी र खेलको विकासका लागि नयाँ अवसर सिर्जना गर्ने कम्पनीको विश्वास छ।

हिमालय स्पोर्ट्सले एनपीएललाई गुणस्तरीय उत्पादन र व्यापक पहुँचसहित दर्शकमाझ पुर्‍याउने प्रतिबद्धतासमेत जनाएको छ। कम्पनीले प्रसारण अधिकार खरिदलाई व्यावसायिक सम्झौताभन्दा पनि नेपाली क्रिकेटप्रतिको दीर्घकालीन लगानीका रूपमा व्याख्या गरेको छ।

सम्बन्धित खबरहरु

भर्खरै