October 21, 2026

३ दिनमै झन्डै ८८ हजार सिलिन्डर काठमाडौं भित्रियो

३ दिनमै झन्डै ८८ हजार सिलिन्डर काठमाडौं भित्रियो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर खण्डमा पहिरोले सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा ग्यास आपूर्ति निरन्तर भइरहेको छ । नेपाल आयल निगमले वैकल्पिक मार्ग प्रयोग गर्दै पछिल्लो ३ दिनमा झन्डै ८८ हजार एलपी ग्यास सिलिन्डर उपत्यका भित्र्याएको जनाएको छ।

निगमका अनुसार १८ देखि २० भदौसम्म कुल ८७ हजार ८ सय ७७ सिलिन्डर काठमाडौं ल्याइएको हो । १८ भदौमा २४ हजार ४ सय ९४, १९ भदौमा ३४ हजार १ सय ३४ र २० भदौमा २९ हजार २ सय ४९ सिलिन्डर भित्रिएको तथ्यांक सार्वजनिक गरिएको छ ।

मुख्य सडक अवरुद्ध हुँदा ग्यास अभाव हुन नदिन काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकका ग्यास उद्योगका सिलिन्डरलाई तराईका विभिन्न जिल्लास्थित उद्योगमा रिफिल गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ।

बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका उद्योगमा ग्यास रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौं पठाउने व्यवस्था गरिएको हो।

निगमका अनुसार श्री, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा÷श्रीकृष्ण, श्रीमाया (काभ्सन्स), लोकप्रिय (उग्रचण्डी), एभरेस्ट÷सुगम, नेपाल, एचपी (हिमालयन), एसटीसी (मेट्रो काठमाडौं), सिद्धार्थ, हिमाल (गौरीशंकर०, सीताश्री र नमस्ते गरी १६ वटा ग्यास उद्योगका विभिन्न ब्रान्डका सिलिन्डर यसरी निरन्तर उपत्यका भित्रिरहेका छन् । कृष्णभिर खण्डको सडक नियमित सञ्चालनमा नआउँदासम्म यही वैकल्पिक व्यवस्थामार्फत ग्यास आपूर्ति र बिक्री वितरणलाई निरन्तरता दिइने निगमले जनाएको छ।

निगमले ग्यास आपूर्तिमा अभाव नहुने दाबी गर्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न पनि आग्रह गरेको छ।

सम्बन्धित खबरहरु

भर्खरै