काठमाडौं । रिक्त रहेका १०० स्थानीय तहले एकै पटक प्रमुख प्रशासकीय अधिकृत पाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार नवनियुक्त शाखा अधिकृतलाई रिक्त रहेका १०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको हो ।
शाखा अधिकृतमा १०६ जना नियुक्त भएकोमा ३ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् भने ३ जना स्वास्थ्य तथा पारिवारिक समस्याका कारण मन्त्रालयमा अतिरिक्त समूहमा राखिएको छ ।
मन्त्रालयका अनुसार १२३ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेकोमा १०० पठाइएको र बाँकी २३ गाउँपालिका मात्रै प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका छन् । रिक्त रहेका २३ गाउँपालिकामा पनि जतिसक्दो चाडै प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सहसचिवको दरबन्दी रहेको ६ महानगरपालिकामा नै पदपूर्ति रहेको छ भने सहसचिवकै दरबन्दी रहेको ११ उपमहानगरपालिका मध्ये एउटा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ ।
यस्तै, २७६ नगरपालिकामा उपसचिवको दरबन्दी रहेकोमा १४६ नगरपालिकामा पदपूर्ति भइसकको छ भने १३० नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ ।


