March 16, 2025

आठ दलीय मोर्चामा अटाउन नसकेका साना मधेशी दलहरू गोलबद्ध हुँदै

आठ दलीय मोर्चामा अटाउन नसकेका साना मधेशी दलहरू गोलबद्ध हुँदै

जनकपुरधाम । मधेशमा आठदलीय मधेशी मोर्चामा अटाउन नसकेका दलहरूबीच मोर्चाबन्दीको गृहकार्य सुरु भएको हो । मधेशका साना दलहरूबीच महागठबन्धनको तयारी तीव्रगतिमा अगाडि बढिरहेको छ । 

पूर्वगृह राज्यमन्त्री मो. रिजवान अन्सारीको नेतृत्वमा मधेशमा वैकल्पिक शक्ति निर्माण हुन लागिएको हो । नेपालका उत्पीडित, उपेक्षित र पछाडि पारिएका वर्ग समुदायको हकअधिकारका लागि संघर्ष गर्ने उद्देश्यले देश र मधेशका लागि वैकल्पिक शक्ति निर्माण गर्न विभिन्न १० दलका साथै नागरिक अगुवाहरूको बैठक सम्पन्न भएको छ ।

मङ्गलबार धनुषाको ढल्केबरमा बसेको बैठकले नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो. रिजवान अन्सारीलाई महागठबन्धन निर्माणका लागि जिम्मा दिएको छ ।

नेपाल सद्भावना पार्टीको विशेष आयोजनामा विभिन्न पार्टीहरूसँग मोर्चाबन्दीको लागि साझा मुद्दाहरूमा छलफल गरिएको छ । नेपाल सद्भावना पार्टीको तर्फबाट राष्ट्रिय अध्यक्ष रामकुमार महतो, उपाध्यक्ष अमरेन्द्र कुमार झा तथा महासचिव पवन कुमार साहको उपस्थिति रहेको थियो । 

त्यसैगरी नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अन्सारी, पूर्व प्रदेश गृह, सञ्चार तथा कानूनमन्त्री विमला अन्सारी, नेपाली जनता दलको अध्यक्ष हरिचरण साह, ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्री नारायण ठाकुर, बहुजन एकता पार्टी नेपालको वरिष्ठ नेता राजाराम पासवान, जन अधिकार पार्टी नेपालको अध्यक्ष ईमदाद गद्दी, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य संजय सिंह, नेपाली जनता दल, स्वाधीन मधेश अभियानी लगायतले मोर्चाबन्दीको लागि वृहत छलफल गर्ने निर्णय गरेका छन् ।

नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी बीच माघ २४ गते भएको सहमति अनुसार नेपालको उत्पीडित जनताको राजनीतिक र सामाजिक अधिकारलाई सुनिश्चित गर्नका लागि नेपाली  जनताको बलिदानी पुनः आन्दोलनबाट  प्राप्त उपलब्धि, सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समानुपातिक समावेशीकरण लगायत उपलब्धिहरूलाई सरकारद्वारा संविधान संशोधनको नाममा कटौती गर्ने दुष्प्रयास भइरहेकोले त्यसलाई सामना गर्न र यस्तो कुनै पनि षड्यन्त्रलाई सफल हुन नदिन जनताको बलियो राजनीतिक शक्ति आवश्यक भएको हुनाले १० राजनीतिक दल र नागरिक समाज एकठाउँमा ल्याउने प्रयास गरिएको नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष  अन्सारी बताए । 

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content