काठमाडौँ । काठमाडौँ, चावहिल मैजुबहालमा अवस्थित कुमारी मन्दिरमा विशेष पूजा सम्पन्न भएको छ । विगतका वर्षहरूमा झै यस वर्ष पनि विशेष पूजाआर्चना भव्यताका साथ सम्पन्न भएको हो ।
ऐतिहासिक स्थल मैजुबहालस्थित माटोको ढिस्कोमाथि रहेको कुमारी मन्दिर बाटो विस्तार गर्ने क्रममा सो ढिस्कोलाई बोटाको सतहमा ल्याउने क्रममा सो ढिस्कोबाट नागहरू निस्केको र सो ढिस्को भत्काउने काम बन्द गरी स्थानीयबासी एवं भक्तजनसहित सो कुमारी मन्दिरमा क्षमापूजा गरी विसं. २०४१ सालतिर मैजुबहाल कल्याणकारी गुठी र स्थानीयवासीको पहिलमा पहिलोपटक मन्दिर निर्माण भएको थियो । पछि काठमाडौँ महानगपालिका वडा नं. ७ को वडा अध्यक्ष शुद्धकुमार डंगोल र सदस्य निर्मला पुडासैनी, सदस्य चन्द्रकला सुन्दास, सदस्य कृष्णमणि भट्टराई, सदस्य कृष्णप्रसाद घिमिरे रहेको कार्यसमितिबाट बजेट निकासा गरी मन्दिर निर्माण कार्य भएको थियो ।
त्यस्तै विसं. २०७९ सालमा निर्वाचित वडा अध्यक्ष विमल होडा, सदस्यहरू रुपा थापा क्षेत्री, कल्पनाकलश सुन्दास, उज्जल अर्याल, सुरेश शाहीको कार्यसमितिबाट थप बजेट निकास गरी कुमारी मन्दिरमा पितलको छाना, बार, बत्ति आदिको निर्माण कार्य भई मन्दिरले पूर्णता पाएको थियो । स्थानीयबासी तथा वरिष्ठ साहित्यकार एवं समाजसेवी स्व. उत्तम कुँवरको सम्झनामा चारमुखे शिवलिङ्गको प्रतिमा स्थापना गर्न देवेन्द्र लोहनी, अनिता कुँवर कडायत, अनामिका कुवरसिंहबाट आर्थिक सहयोगमा निर्माण कार्य सम्पन्न हुनुका साथै शिवलिङ्गको प्राणप्रतिष्ठा गर्ने कार्य समेत मैजुबहाल कल्याणकारी गुठीका निवर्तमान अध्यक्ष तथा मैजुकुमारी सामुदायिक सेवा समाजका अध्यक्ष हरिभक्त महर्जनको सक्रियतामा सम्पन्न भएको थियो । हाल यस कुमारी मन्दिरमा मैजुकुमारी महिला आरती समूहको सक्रियतामा दैनिक साँझमा आरती गरिँदैआएको मैजुकुमारी महिला आरती समूहकी अध्यक्ष रचना बरालले बताइन् ।