काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’ भएसँगै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक हजार एक सय २६ मिटर सुरुङमार्ग छिचोलिने काम सम्पन्न भएको छ ।
प्रधानमन्त्री ओलीको विशेष उपस्थितिमा आज सो सुरुङमार्गको ‘ब्रेक थ्रू’ गर्ने कार्यक्रम भएकामा स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअल माध्यममार्फत उनी सो कार्यक्रममा सरिक भएका हुन्।
प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट सुरङमार्गको ‘ब्रेक थ्रू’ गर्दै पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट यात्रीहरुलाई राहत दिन सो सुरुङमार्ग एक सफल आयोजना सावित हुने विश्वास व्यक्त गरे । उनले सो सुरुङमार्गबाट लाभ लिइ राजमार्गको सहज आवागमन, सामाजिक एवं आर्थिक सम्बन्ध विस्तार र उत्पादन आदानप्रदान गर्न शुभकामना दिए ।
यसअघि त्रिभुवन राथपथअन्तर्गतको थानकोट–नागढुङ्गा सुरुङमार्ग ‘ब्रेक थ्रू’ भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्नसक्ने स्थितिमा मुलुक पुगेको प्रधानमन्त्री ओलीले बताए ।