काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आगामी पुस २ गते बस्ने भएको छ । सोमबार बसेको पदाधिकारी बैठकले आगामी पुस २ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । बैठकले मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उमेदवारलाई जिताउन एकतावद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्देशन दिएको हो । उपनिर्वाचनका लागि प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसहरूलाई अनुमोदन गरेको पनि पार्टीका प्रवक्ता अग्नि सापकोटाले बताए ।
उपनिर्वाचनमा सफलता हाँसिल गर्न योजनावद्ध कार्यक्रम बनाउने निर्णय भएको उनले जानकारी दिए । मंसिर मसान्तसम्म पालिका सम्मेलन गरिसक्ने र साथसाथै बृहत्, प्रभावकारी र व्यवस्थित जनपरिचालनको कार्यक्रम गर्ने निर्णय भएको बताए ।
उनले भने, “मंसिर १६ गते हुने उपनिर्वाचनका लागि तलबाट आएका सबै सिफारिसहरूलाई अनुमोदन गरेको छ । निर्वाचनमा आफ्ना उमेदवारलाई जिताउन एकतावद्ध भएर पहलकदमी लिनुपर्छ भन्ने अपिल गरेको छ । उपनिर्वाचनमा सफलता हाँसिल गर्न योजनावद्ध कार्यक्रम बनाएका छौँ ।”