October 31, 2024

बीपी राजमार्गमा एक साताभित्र सवारी चलाउने व्यवस्था हुन्छः गृहमन्त्री

बीपी राजमार्गमा एक साताभित्र सवारी चलाउने व्यवस्था हुन्छः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्सनसहित विपद्का कारण अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुने बताएका छन्।

बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा आज बिहान सिन्धुलीको खुर्कोट प्रभावित क्षेत्रको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले अतिभारी बर्षाका कारण आएको विपद्‌बाट सबैभन्दा बढी क्षति भएको बीपी राजमार्ग अस्थायी रुपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागि रहेको बताए।

‘बीपी राजमार्गमा धेरै क्षति भएको छ, एक हप्ताभित्र डाइभर्सनसहित सवारी चलाउने व्यवस्था हुन्छ,’ उनले भने, ‘यहाँका अवरुद्ध भित्रि सडक सञ्चालनदेखि पुल निर्माणसम्म सेनाको धेरै ठुलो भूमिका देखिएको छ।’

विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागि परेको बताउँदै गृहमन्त्री लेखकले जतिसक्दो चाँडो यो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।

‘यो समस्यामा कहाँ जाउँला? के गरुँला? यो नसोच्नुहोला,’ उनले भने, ‘सकरार छ, सरकार भनेको सबैको अभिभावक पनि हो।’

विपद्को समस्या सबै मिलेर समाधानमा जुट्नुपर्नेमा जोड उनको थियो।

‘यसमा कुनै राजनीति छैन, कुनै पक्ष विपक्ष छैन्,’ उनले भने, ‘तीन वटै सरकार, सबै राजनीतिक दल, गैरसरकारी संस्था सबै मिलेर हामीले यो विपद्पछिको समस्या समाधान गर्नुछ।’

सम्बन्धित खबरहरु

Skip to content