काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (अनुवाद) विभाग र अनुवादक समाज नेपालको सहकार्यमा विश्व अनुवाद दिवसको अवसर पारेर ‘पाठ्यपुस्तक र पाठ्य सामग्रीमा अनुवादको प्रयोग’ विषयक अन्तरक्रिया प्रतिष्ठानकै देवकोटा सभाकक्षमा सम्पन्न भएको छ ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर अन्तरक्रिया कार्यक्रमको समुद्घाटन गर्दै अनुवादको प्रभाव भाषाका पाठ्यपुस्तकको अध्ययन अध्यापनमा त्यतिकै रहेको छ र यो स्वयम्मा ज्ञान र सञ्चारको माध्यम रहेको बताए । कुनै पनि रैथाने भाषाभाषीमा अनुवादको माध्यमले प्राथमिक तहदेखि नै प्रभाव पारेको हुन्छ । यसको महत्त्वलाई सबैले स्वीकार्नुपर्ने उनले बताए ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपालको अनुवाद विधा सम्बन्धित नीतिको अभावमा अनुवादकार्य र पठनपाठनमा अन्योल परेको बताए । उनले भाषा शिक्षणविधिमा प्रत्यक्ष अनुवादको प्रभाव रहेको बारे चर्चा गरेका थिए ।
प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (अनुवाद)विभाग प्रमुख हंसावती कुर्मीले उक्त अन्तरक्रियाको सभाध्यक्षता गरेकी थिइन् । उनले अनुवादको माध्यमले ज्ञान आदानप्रदान गर्न सहज हुने बताउँदै शिक्षामा अनुवादको संस्कृतिले पठनपाठनमा दिगो असर पार्ने बताइन् ।आजको विश्वमा अनुवादको दह्रो माध्यम भाषान्तर रहेकोमा जोड दिएकी थिइन् ।
उक्त अन्तरक्रियामा अनुवादक समाज नेपालका महासचिव डा.ऋषिराम अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपाली पाठ्य सामग्रीमा अनुवादको महत्वबारे बताए । अन्तरक्रियाको प्यानलिस्ट छलफलमा डा.प्रकाश तिवारी ,अजम्बरजङ्ग लिम्बू (अमर तुम्याहाङ)र करुणा नेपालले भाग लिएका थिए ।
प्यानलिस्ट अन्तरक्रियाको सहजीकरण चन्द्रबहादुर लामाले गरेका थिए । यस अन्तरक्रियामा डा. प्रकाश तिवारीले अनुवाद ज्ञान धारणका लागि महत्त्वपूर्ण माध्यम भएको बताएका थिए ।
यसैगरी अमर तुम्याहाङले अनुवादको सैद्धान्तिक पक्ष मात्र नभइ व्यवहारिक पक्षमा ध्यान दिनु आवश्यक रहेको बताउँदै भाषा शिक्षणमा अनुवादको प्रभाव प्रवल रहेको चर्चा गरेका थिए । साथै उनले बहुभाषिक अनुवाद कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिएका थिए ।
करूणा नेपालले अनुवाद दैनिक जीवनबाट सुरु हुने बताउँदै अनुवादसँग भाषान्तर मात्रै नभइ प्रत्यक्ष संस्कृति र समाज पनि जोडिन आउने उल्लेख गरेका थिए । उक्त अन्तरक्रियाको सञ्चालन अनुवादक समाज नेपालका सचिव सकुनकुमार जोशीले गरेका थिए ।