काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले रु ५० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैलाई उद्धार तथा राहतका काम जुट्न आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओलीले पार्टीका सांसदहरुलाई आधा १५ दिनका पारिश्रमिक राहत कोषमा योगदानका लागि गरेको प्रस्ताव संसदीय दलबाट पारित भएको छ ।
प्रधानमन्त्री ओलीले बाढी, पहिरो, क्षति र उद्धारका सम्बन्धमा हालसम्म भएका प्रगतिबारे आज दिउँसो हुने पत्रकार सम्मेलनमा जानकारी गराइने बताए ।
यसअघि मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा रु एक अर्ब उक्त कोषमा दाखिला गर्ने निर्णय गरेको थियो ।