काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको मातृभाषा, कोश र व्याकरण विभागको आयोजनामा ’नेपालभाषाका प्रगतिवादी कविता’को चर्चा भएको छ । कार्यक्रममा समालोचक पूर्ण ताम्राकारले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमा वि.सं. २०२२ सालको समाचार काण्डले नेवारहरूमा व्यापक असन्तुष्टि बढेर टोलटोलमा युवाहरूले साहित्यिक कार्यक्रम गरेर विरोधको स्वर घन्काएको ऐतिहासिक सन्दर्भका बारेमा चर्चा गरिएको थियोे ।
नेपालभाषामा प्रगतिवादी स्वर उराल्नेहरूमा जनकवि दुर्गालाल श्रेष्ठ, वरिष्ठ कवि पूर्ण वैद्य, सुन्दर मधिकर्मि, योगेन्द्र प्रधान, बुद्ध सायमि गिरिजाप्रसाद जोशी र शान्तदास मानन्धर आदि कविहरूले समाजका विकृति, विसङ्गति, अन्याय र अत्याचारलाई विरोध गर्दै निरङ्कुशताको धज्जी उडाएको उल्लेख गरेका थिए ।
दुर्गालाल श्रेष्ठको ‘जनयुद्धको गीत’ कविता, पूर्ण वैद्यको ‘लः लः खः’ कवितासङ्ग्रह, योगेन्द्र प्रधानको ‘प्रशान्त महासागरया लबु’, सुन्दर मधिकर्मिको ‘हावा’, गिरिजाप्रसाद जोशीको ‘जनताया म्ये’ आदिबारे चर्चा गरिएको थियो ।यसैगरी विद्रोही स्वरसहित समसामयिक र विसङ्गतिविरुद्ध आनन्द जोशी, त्रिरत्न शाक्य, पुष्पराज राजकर्णिकार, नर्मदेश्वर प्रधान र अगिब बनेपाली आदि कविहरू प्रगतिवादी कविता लेखनमा सक्रिय रहेको चर्चा गरिएको थियोे ।
कार्यपत्रमाथि टिप्पणी गर्दै नेपालभाषा एकेडेमीका उपकुलपति मल्ल के सुन्दरले नेपालभाषामाथि गरिएको अन्याय, भेदभाव, शोषणका कारण कविहरूमा स्वतः प्रगतिशील चेतना उत्पन्न भएको उल्लेख गरेका थिए ।
उनले नेपालभाषाका कतिपय कविहरूको व्यवहार र जीवनपद्धति गैरप्रगतिशील र राजावादी भइकन् कविताचाहिँ वामपन्थी वा प्रगतिवादी भएको संकेत गरेका थिए ।
राज्यले निरन्तर रूपमा नेपालभाषालाई विभेद र थिचोमिचो गरेकाले नेपालभाषाका कविमा प्रगतिवादी चेत उब्जिएको भन्ने फरक मत मल्ल के सुन्दरले राखेका थिए ।
पञ्चायतको ’एक भाषा एक देश ’जस्तो राजाको निरङ्कुश भाषिक नीतिको निहुँ र अवस्थाले दुर्गालाल श्रेष्ठ, शान्तदास मानन्धर, हितवीर कंसाकार र इश्वरानन्द आदि त्यस ताकाका युवाहरू कवितामार्फत जुर्मुराएको इतिहास प्रतीकात्मक रहेको चर्चा गर्दै कविहरूले असन्तोष, विद्रोह र आक्रोशसहित परिवर्तनका स्वर उरालेको इतिहास उप्काएका थिए ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले ‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा –प्रतिष्ठान’भन्ने नीतिअन्तर्गत मातृभाषाका कार्यक्रमलाई विशेष महत्त्व दिएर अभियानका रूपमा अघि बढाउँदै गएको कुरा उल्लेख गरेका थिए ।
उनले नेपाली साहित्यसँग केही हदसम्म समकक्षमा उठ्न सक्ने क्षमता नेपालभाषाको साहित्य मात्र रहेकाले नेपालभाषाप्रति गर्व गर्न सकिने कुरा चर्चा गरेका थिए ।
समालोचक पुष्पराज राजकर्णिकारले नेपालभाषामा हाल प्रगतिवादी साहित्यमा गिरावट आइरहेकाले चिन्ताको विषय रहेको र कार्यपत्रमा निष्कर्षसहित यस्तो हुनुपर्छ भन्ने कुरा नआएको बताएका थिए ।
प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले स्वागत मन्तव्य तथा कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै नेपाल भाषाको साहित्य समृद्ध रहेको चर्चा गरेका थिए । उनले नेपाल भाषाका प्रगतिवादी कविहरूको विद्रोहीचेतले परिवर्तनका लागि महत्त्वपूर्ण कार्य गरेको बताएका थिए ।
नेपालभाषाको साहित्यमा प्रगतिवादी आवाज उराल्ने विराट नेपालभाषा साहित्य सम्मेलन, नेपालभाषा तःमुञ्ज्या मात्र होइन इन्द्रेणी साहित्य समाज र बालसाहित्य मण्डल जस्ता संस्थाले पनि गहन योगदान दिएकाले ती कुरा छुट्न गएको कार्यपत्रमा थप गर्न सभाध्यक्ष तथा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा, कोश र व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपाली (अगिब)ले राखेका थिए ।
विभिन्न मातृभाषामा यसप्रकारका कार्यपत्र लेखाएर विमर्श गर्ने जानकारी प्राज्ञ बनेपालीले गराउनुभएको थियोे। कार्यक्रमको उद्घोषण भने भौतिक संसाधन व्यवस्थापन महाशाखा प्रमुख सन्ध्या पहाडील गरेका थिए ।