November 2, 2024

प्रज्ञामा ‘अछामी साहित्यको वर्तमान अवस्था’ विषयक विमर्श

प्रज्ञामा ‘अछामी साहित्यको वर्तमान अवस्था’ विषयक विमर्श

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रवार आयोजना हुँदै आएको ’मातृभाषा साहित्य’को १४औँ शृंखलाको ‘सिर्जना, संवाद र विमर्श’ सम्पन्न भएको छ । ’प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर उक्त कार्यक्रमको समुद्घाटन गरेका थिए । कार्यक्रममा ’अछामी साहित्यको वर्तमान अवस्था’ विषयक कार्यपत्र डा.हर्कबहादुर शाहीले प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुत गर्दै शाहीले अछामी साहित्यको परिचय,नेपाली भाषासँगको बोधगम्यता ,ऐतिहासिक, राजनीतिक र सामाजिक मान्यता,अनुसन्धान , नाम र मूल स्थानिक,क्रिया र विशेषणकाबीच संगति र अछामी भाषाको साहित्यिक अवस्थाका बारेमा आफ्नो अनुसन्धानात्मक दृष्टिकोण राखेका थिए ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यपत्रबारे आफ्नो दृष्टिकोण राख्दै प्रज्ञा–प्रतिष्ठानले सिर्जनशील र अनुसन्धानात्मक कार्यका लागि अवसर प्रदान गर्न सकिने बताएका थिए । अछामी भाषा र साहित्यको बारेमा डा.हर्कबहादुर शाहीले महत्त्वपूर्ण आधारभूत कुराहरू उल्लेख गरेको मा कुलपति राईले चर्चा गरेका थिए । नेपालमा जेजति भाषाहरू छन् ,ती सबै नेपाली सम्पदा भएकाले यसको संरक्षणमा लागिपर्नु बताए। उनले नेपालमा गणतन्त्र स्थापना भएपछि प्रत्येक जातजातिका भाषाभाषी सूचीकरण भएकोमा खुसी व्यक्त गर्दै प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभागमार्फत भाषा अभियानमा छ। यही अभियानले नै मातृभाषाबिच सहकार्य भइरहेको बताए ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपालमा बोलिने भाषा र भाषिकाहरूको मूलमर्मलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउनु भएको थियोे।उहाँले अछामी भाषा र साहित्यको थप अनुसन्धान गर्न जोड दिए ।

कार्यक्रमका सभाध्यक्ष तथा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य,साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङले मातृभाषा नेपालको गतिलो सम्पत्ति भएको चर्चा गर्दै आज डा.हर्कबहादुर शाहीले प्रस्तुत गर्नुभएको अछामी भाषा र साहित्यको अवस्था विषयक कार्यपत्रले ठूलो प्रभाव पार्ने बताए। प्राज्ञ मुकारुङले मातृभाषा साहित्यको बहसले सबैलाई उत्साहित पारेको उल्लेख गर्दै आगामी असोज १८ गते शुक्रबार खालिङ भाषा साहित्य बारे बहस हुने बताए ।

उक्त कार्यपत्रमाथि सहभागीका तर्फबाट डा.सोम धिमाल,शिवप्रसाद जोशी ,भूपध्वज ,यासेली र शाक्य सुरेनले आआफ्नो जिज्ञासा राखेका थिए । कार्यक्रममा कलाकार हिरन राईले ’बिनायो र पात ’बजाएर रैथाने बाजाको धुन गरेका थिए ।
कार्यक्रममा ल्होमीभाषाको कविता छेजाप ल्होमी,जिरेल भाषाको कविता टीकाभक्त जिरेल र नेपाल भाषाका कवि दिव्या बज्राचार्यले कविता प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको उद्घोषण प्राज्ञ चेतनाथ धमलाले गरेका थिए ।

सम्बन्धित खबरहरु

Skip to content