September 8, 2024

प्रज्ञा–प्रतिष्ठान आधिकारिक ट्रेड युनियनको तिज विशेष कार्यक्रम सम्पन्न

प्रज्ञा–प्रतिष्ठान आधिकारिक ट्रेड युनियनको तिज विशेष कार्यक्रम सम्पन्न

काठमाडौं । आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल प्रज्ञा–प्रतिष्ठान केन्द्रीय समितिले तिज पर्व –२०८१ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको थियोे । प्रमुख अतिथि एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले तिज महिलाहरूको सुखदुःख र स्नेहसँग जोडिएको पर्व रहेको बताए ।

तिजलाई विकृति र अन्धविश्वासबाट जोगाउँदै महिलामुक्तिमैत्री बनाउनुपर्ने उनले बताए । उनले सांस्कृतिक संस्थानबाट प्राप्त तिज विशेष मायाको चिन्ह प्रज्ञा–प्रतिष्ठानका प्रशासन प्रमुख सुमन अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
अतिथि एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले तिज पर्वलाई प्रतिष्ठानका कर्मचारीले सिर्जनशील रूपमा मनाएकोमा खुसी व्यक्त गरेका थिए ।

प्रज्ञा–प्रतिष्ठानका भौतिक संसाधन महाशाखा प्रमुख सन्ध्या पहाडीले तिजलाई महिलाको पहिचान र प्रतिरोधसँग जोडेर मनाउन थाल्नुपर्ने बताएका थिए । कार्यक्रममा ‘समृद्धि बरीलै’ शीर्षकको तिज गीत प्रज्ञा–प्रतिष्ठानमा कार्यरत महिला कर्मचारीहरू गायत्री सिग्देल, सविना ज्ञवाली, मिना आचार्य, दुर्गा शर्मा,लक्ष्मी ज्ञवाली, रिता दाहाल,राधिका अधिकारी, हिरा कटुवाल,विना पराजुली र कल्पना भण्डारीलगायतले प्रस्तुत गरेका थिए ।

आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल प्रज्ञा–प्रतिष्ठान केन्द्रीय समितिका अध्यक्ष महेश्वर थापा मगरको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियोे। तिज पर्वलाई भड्किलो नबनाइ असल संस्कृतिको रूपमा अघि बढाउन अध्यक्ष मगरले जोड दिएका थिए ।

उक्त आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष किरणकुमार अधिकारीले स्वागत मनतव्य र कार्यक्रमको उद्घोषण आधिकारिक ट्रेड युनियनका सचिव झनप्रसाद अधिकारीले गरेका थिए । उक्त कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका महिला कर्मचारीहरूले प्रस्तुत गरेको तिज गीत यस प्रकार रहेको छः–

परम्परा संस्कृतिसाई जोगाउन
हामी नारी तिजको भाका भर्छौ बरीलै ३
मञ्चमा आसिन सबै स्रष्टा मनुलाई
प्रज्ञाबाट स्वागत गर्छौँ बरीलै ३

मुस्कानसहित, सेवा हाम्ले दिनुछ
पीडा दुःख कष्ट सबै भुली बरीले ३
नैतिकवान् जिम्मेवार बनेर
सार्वजनिक सेवा दिओैँ खुली बरीलै ३

सीमित तलब हात मुख जोर्न गाह्रो छ
घरव्यवहार कसरी गरौँ बरीलेै ३
भ्रष्टाचरमुक्त, उत्तरदायी प्रशासन
सक्षम र पारदर्शी पारौँ बरीलै ३

संविधानमा, हक अधिकार लेख्या छ
व्यवहारमा समान गर्न जुटौँ बरीलै ३
नारीमाथि, हत्या हिंसा रोक्नलाई
हामी नारी एकजुट भई उठौँ बरीलै ३

हाम्लाई प्यारो, हाम्रो आफ्नै संस्कृति
विकृति तडकभडक छोडौँ बरीलै ३
हाम्रै भाषा भेषभूषा राम्रो छ
सबै कला संस्कृति जोडौँ बरीलै ३

देशको कथाव्यथा तिजको भाकामा
हामी साथी मिलेर गायौ बरीलै ३
तिजका चेली सात डाँडा पारी छौ
माइती राजै आउन पाइनौ बरीलै ३

समाजिक न्याय, समावेशी शासन
सुशासन समृद्धि छाओस् बरीलै ३
नाच्न आयौँ तिजको भाका गायौँ
शान्ति छाओस् सद्वुद्वि आओस् बरीले ३।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content