September 8, 2024

प्रज्ञा–प्रतिष्ठानमा ‘बदलिँदो परिवेशमा तिज र तिज गीतको सान्दर्भिकता’बारे बहस

प्रज्ञा–प्रतिष्ठानमा ‘बदलिँदो परिवेशमा तिज र तिज गीतको सान्दर्भिकता’बारे बहस

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (काव्य/पद्य) विभागले बदलिँदो परिवेशमा तिज र तिज गीतको सान्दर्भिकता’ विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर गरेका थिए । उनले भने, ‘पितृसत्ताबाट उत्पीडनमा परेका महिलाहरू एकआपसमा भेला भएर सात/आठ हजार वर्षदेखि तिज मनाउँदै आएका छन्। पितृसत्ताविरुद्ध महिलाहरू तिज पर्वमा गीतसङ्गीतको माध्यमबाट प्रस्तुत भएर विद्रोह गर्दै आएका छन् । यसलाई नारी मुक्तिको विद्रोहसँग जोडेर हेर्नुपर्नेमा जोड दिनुपर्छ ।’  उनले सांस्कृतिक पर्व तिजको मौलिकता दलाल पुँजीवादको प्रभावमा फसेकोमा चिन्ता व्यक्त गरेका थिए ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले महिलाहरूको महान् पर्व तिजले नारीबिच एकाआपसमा भेला भई सुखदुःख ,अभाव र उत्पीडनलाई व्यक्त गर्ने पर्व नै तिज हो भन्नेमा जोड दिएका थिए ।

उनले तिजका नाममा देखा परेका अशोभनीय तडकभडकहरू प्रति सबै सजग रहनुपर्ने सुझाव दिएका थिए । प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (काव्य /पद्य ) विभाग प्रमुख बाबा बस्नेतले तिज पुरातन संस्कृति र परम्परामा आधारित भएपनि समयसापेक्ष नवीनशैली देखापरेको बताएका थिए । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत तिज पर्व व्यापक भइसकेको बताए ।

यसको मौलिकता र सांस्कृतिक मूल्यलाई संरक्षण गर्नु हाम्रै दायित्व रहेको उनले उल्लेख गरेका थिए । उनले तिज यसरी नै मनाउनुपर्छ भन्ने कसैको अधीनमा रहेको छैन। कुनै पनि विसङ्गतिबाट मुक्त हुँदै महिलामुक्तिका लागि तिज पर्वका गीतसङ्गीत प्रस्तुत हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा अवधारणापत्र प्रस्तोता सुधा मैनालीले ‘बदलिँदो परिवेशमा तिज र तिज गीतको सान्दर्भिकता’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो ।

उनले तिज र तिज गीतको परिचय, स्वरूप, समावेशीकरण, समाजशास्त्रीय दृष्टिकोण र तिजको भाषिक दृष्टिकोण लगायतका विषयमा अवधारणापत्र केन्द्रीत गरेकी थिइन् ।

उनले अवधारणापत्र प्रस्तुत गर्दै भनिन्, ‘महिलाको भाषिक आवाज आफ्नै भाषामा बुलन्द बनाउने विषयहरू तिज गीतमा समावेश हुनुपर्छ। तिज गीत जीवनको वास्तविक अर्थ खोज्ने र महिला स्वतन्त्रता, विकास र समृद्धिका लागि चेतना छरी, महिला र पुरुषको समान सत्ता निर्माण गर्न सक्ने हुनुपर्छ ।जसले महिलालाई हेर्ने हेपाहा दृष्टिकोण र घृणित सामाजिक अपराधले भरिएको कठघराबाट बाहिरी स्वतन्त्र दुनियाँमा ल्याउन सक्नुपर्छ। महिलाले आफ्नै ठाउँ सिर्जना गर्न सक्नुपर्छ। आफ्ना समस्याको पहिचान गरी समाधान गर्न र निर्णय लिन सबल र सक्षम बनाउने खालका तिज गीत प्रयोगमा ल्याउनुपर्छ। यसका लागि आँसु ,रोदन, उत्तेजना र बजारमा बिक्री गर्ने महिलाको शारीरिक सुन्दरता बेच्ने गीत बन्देज हुनुपर्छ ।’

उक्त अवधारणा पत्रमाथि पूरक टिप्पणी राख्दै प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्रा.डा. ज्ञानु पाण्डेले विद्यमान विश्वास र परम्पराले गाँजेको तिज पर्वलाई अब महिलाले मौलिक संस्कृति प्रति सचेत रहँदै विद्रोही स्वर दिनुपर्ने बताएकी थिइन् ।

अर्का पूरक टिप्पणीकार सोमप्रसाद गड्तौलाले तिज पर्वलाई राम्रोसँग बुझ्न’शिव महापुराण’को अध्ययन गर्नुपर्ने र तिजका नाममा देखापरेका विकृतपक्ष चिन्ताको विषय भएको बताए ।

कार्यक्रममा सहभागीका तर्फबाट नाछिरिङ ,प्रभा बराल ,देवकी तिमल्सिना र तारा बरालले आआफ्नो जिज्ञासा राखेका थिए । ’योजना तथा कार्यक्रम महाशाखा’ प्रमुख लक्ष्मी गौतमले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content