काठमाडौं । ‘अक्वा त्रिदेव’ ब्रान्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौं महानगरपालिकाले दुई लाख जरिवाना गर्ने निर्णय गरेको छ । तारकेश्वर नगरपालिका–१० मा सञ्चालित जाम्बुलिंगा ग्रुप इन्डष्ट्रीले उत्पादन गरेको पानीमा कोलिफर्म मिसिएको पुष्टि भएको हो ।
महानगरले साउन २५ गते गोगंबु क्षेत्रबाट पाँच वटा ब्रान्डका नाममा उत्पादित २० लिटरका जारको पानीको नमुना संकलन गरेको थियो । ती नमुना काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षण गर्दा कोलिफर्म भेटिएको महानगरका निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिए ।
मंगलबार प्राप्त रिपोर्टमा अक्वा त्रिदेव ब्रान्डको पानीमा फिकल कोलिफर्म भेटिएको हो । डा. झाका अनुसार प्रतिएक सय मिलिलिटर नमुनामा ३०० भन्दा बढी कोलनी फर्मिङ् युनिट (सीएफयू) देखिएको छ ।
खाद्य प्राविधिक अनिल बस्नेतका अनुसार “नेपाल सरकारको खाद्य तथा दाना पदार्थको अनिवार्य गुणस्तर मापदण्ड २०८०’ अनुसार प्रशोधित पिउने पानीमा कोलिफर्मको मात्रा शून्य हुनुपर्छ । पानीमा सीएफयू तीन सयभन्दा धेरै देखिनु पानीको स्रोतमा सफाइ नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको भन्ने हो ।”
कोलिफर्मको स्रोत मानव वा पशुको दिशा हो । डा. झाका अनुसार जरिवाना गरिएसँगै सो ब्याचमा उत्पादन भएको सबै पानी बिक्रीमा प्रतिबन्ध लगाइएको छ ।