काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारेमा छानबिन गर्न सरकारले जाँचबुझ आयोग गठन गरेकाे छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जाँच आयोग गठन गरेको हो । नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग गठन गरिएकाे हो । उक्त आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य रहेका छन् । आयोगले ३० दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ ।
आज दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौंबाट स्याफ्रुबेसी, रसुवा उडेको एयर डाइनेस्टीको 9N- AJD नंको हेलिकप्टर नुवाकोटको शिवपुरी गा.पा.-७ सूर्यचौरमा दुर्घटना भएको थियो । दुर्घटनामा परेर हेलिकप्टरमा सवार पाँच जनाको मृत्यु भएको छ । जसमध्ये चार जना चिनियाँ नागरिक छन् भने एक जना नेपाली पाइलट अरुण मल्ल रहेका छन् ।