February 10, 2025

‘नेपालमा सन्त दर्शन र त्यसको प्रभाव’ र ‘किरात दर्शन’ साहित्यिक र साङ्गीतिक महोत्सव सम्पन्न ।

‘नेपालमा सन्त दर्शन र त्यसको प्रभाव’ र ‘किरात दर्शन’ साहित्यिक र साङ्गीतिक महोत्सव सम्पन्न ।

खोटाङ । नेपाल प्रज्ञा–प्रतिष्ठान तथा नेपाल खेलकुद प्रतिष्ठानद्वारा आयोजित हलेसीमा ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ सम्पन्न भएको छ । महोत्सव नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्य सम्पन्न भएको हो ।

महोत्सवमा प्रज्ञा–प्रतिष्ठान दर्शनशास्त्र विभागद्वारा अनुसन्धाता डीआर पोख्रेलद्वारा लिखित ‘नेपालमा सन्तदर्शन र त्यसको प्रभाव’ु र अनुसन्धाता भोगीराज चाम्लिङद्वारा लिखित ‘किरात दर्शन’ विषयक दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । नेपालमा सन्तदर्शन र त्यसको प्रभावबारे कवि केशव सिलवाल र किरात दर्शनमाथि मकरचन्द्र राईले टिप्पणी गरेका थिए ।

उक्त महोत्सवमा कुलपति राईले त्रिधार्मिक सांस्कृतिक केन्द्रको रूपमा स्थापित हलेसीमा दार्शनिक, साहित्यिक, साङ्गीतिक र खेलकुद कार्यक्रमको आयोजना हुनुले यसको महत्त्वलाई थप प्रष्ट पारेको बताए । उनले हलेसीमा किरात र सन्तदर्शनका बारेमा प्रज्ञा–प्रतिष्ठानका तर्फबाट बहस थालिएको छ। यसले पर्यटन प्रवर्द्धनका लागि नयाँ उचाइ दिनेमा आफू विश्वत रहेको उल्लेख गरे ।

महोत्सवमा विशेष अतिथि प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्थानीय निकायले पहल नलिने हो भने खोटाङबाट धेरै भाषा लोप हुने अवस्था रहेको बताए । प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारी विशेष अतिथि रहेका थिए । आयोजक संस्थाका अध्यक्ष सञ्जय राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिका मेयर विमला राई, पत्रकार कृष्ण आचार्यलगायतले मन्तव्य राखेका थिए । टेम्के तुवाचुङ प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेको अध्यक्षता र कवि सीता थुलुङको सञ्चालन रहेको उक्त कार्यक्रममा बम बानियाँले स्वागत मन्तव्य राखेका थिए ।

महोत्सवमा खोटाङका प्रसिद्ध कवि जसराज किराती रू ११ हजार एकसय ११ रूपैयाँ नगदसहित ताम्रपत्रद्वारा सम्मानित भएका छन् । खुला राष्ट्रिय कविता प्रतियोगितामा सुनसरीका कवि किरण सिवाको ‘बिर्खे दमाईंको आवाज’ कविता प्रथम भई रू ४० हजार नगद र प्रमाणपत्र, भोजपुरका कवि सङ्ग्राम किरातीको ‘बाध्यता कि रहर’ कविता दोस्रो भई २५ हजार नगद र प्रमाणपत्र, उदयपुरका कवि जीवन चाम्लिङ राईको ‘भरिया दाइ’ कविता तेस्रो भई रू १७ हजार नगद र प्रमाणपत्र, सिन्धुलीका कवि बाबुराम श्रेष्ठ ‘यात्री’को कविता ‘छम्कली रोकाया’
चौथो भई ११ हजार नगद र प्रमाणपत्र, भोजपुरकी शकिला राईको कविता ‘म यात्री मनको’ को पाँचौँ भई ७ हजार नगद र प्रमाणपत्र हासिल गरेका छन् । पुरस्कृत प्रतिभालाई कुलपति राईले नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए ।

कविता प्रतियोगिताको निर्णायक मण्डलको संयोजकमा कवि रामविक्रम थापा र सदस्यमा खोटाङका कवि वेदीकुमार राई र भोजपुरकी कवि कविता राई रहेका थिए । उक्त महोत्सवमा खेलकुद र साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको थियो भने साहित्यिक महोत्सवको सहआयोजक टेम्के तुवाचुङ प्रतिष्ठान रहेको थियो ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content