ओखलढुङ्गा । श्री धुसेनी आधारभूत विद्यालयले हीरक जयन्ती मनाएको छ । वि.सं. २०२० सालमा स्थापना भएको विद्यालयले ६०औं वर्षको अवसरमा बुधबार हीरक जयन्ती मनाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मानेभन्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बाटो जति ठुलो बनाए पनि विद्यालयबाट कक्षा ५ उत्र्तिण गरेर पढ्न जानको २ घण्टा हिडन पर्ने देखिएकोले तत्काल कक्षा ६ स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्कुल सञ्चालन लागि छुट्टै कोष बनाएर विद्यालय सञ्चालन गर्न सकिने सुझाव दिए । अध्यक्ष रुम्दालीले अन्य विकासमा पनि पछि परेको नेवारेडाँडालाई विकासमा भरपुर लागिपर्ने बताएका छन् । उनले पालिका अन्य विकासमा भन्दा पनि शिक्षामा बढि लगानी गरेको बताउँदै यस क्षेत्रका विद्यार्थीहरुको लागि सकेसम्म लगानी गर्ने बताए ।
त्यसै गरि कार्यक्रमका विशेष अतिथि आश्रचन राईले शिक्षा ऐनका कारण काम गर्न कठिन भए पनि व्यवहारिक पाटोबाट त्यस विद्यालयलाई थप कक्षा सञ्चालन गर्न सहयोग गर्ने बताए । उनले बालबालिकाहरु शिक्षाबाट बञ्चित हुन हुँदैन भन्ने आशय अनुरुप कानुनी कुरालाई थाति राख्दै व्यवहारिक पक्षबाट यस विद्यालयलाई पालिकाको शिक्षा समितिमा छलफल गरेर केहि मापदण्ड पुरा गरे थप कक्षा सञ्चालन गर्नेमा आफू लागि पर्ने बताए ।
कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक डेनिस थापा मगरले विद्यालयको कार्यपत्र प्रस्तुत गरेका थिए ।
हीरक जयन्तीको अवसरमा पूर्व शिक्षक, विद्यालय सहयोगीदाता तथा हीरक जयन्ती सफल बनाउन सहयोग गर्ने सहयोगीदाताहरुलाई मायाको चिनो तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रम मानेभन्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीको प्रमुख आतिथ्यतामा पालिका उपाध्यक्ष आश्रचन राई विशेष आतिथ्यतामा र पूर्व शिक्षक पूर्व विद्यार्थी तथा अभिभावकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।