September 7, 2024

डेंगी संक्रमण बढदै, देशभर २ हजार ९३० जना संक्रमित

डेंगी संक्रमण बढदै, देशभर २ हजार ९३० जना संक्रमित

काठमाडौं । डेंगी संक्रमण बढ्न थालेको छ । एक हप्तायता ह्वातै संक्रमण बढेको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार यही असार २७ गते एक हजार ३३७ संक्रमण भएकोमा साउन १ गतेसम्म आइपुग्दा संख्या बढेर दुई हजार ९३० जनामा डेंगीको संक्रमण देखिएको छ।

कोशी प्रदेशमा एक हजार ७४६ जना, मधेश प्रदेशमा १६ जना, बागमती प्रदेशमा ४६८ जना, गण्डकी प्रदेशमा २६९ जना, लुम्बिनी प्रदेशमा १३४ जना, कर्णाली प्रदेशमा १८ जना र सुदूरपश्चिम प्रदेशमा २७९ जनामा संक्रमण देखिएको छ।

नयाँ देखिएका बिरामीमध्ये ८२ प्रतिशत बिरामी १० जिल्लाका रहेका छन् । सबैभन्दा बढी सुनसरी जिल्लामा एक हजार ५७१, धादिङ २५६, दार्चुला १८८, कास्की १४९, संखुवासभा ५८, काठमाडौँमा ४६, कञ्चनपुर ३९, भक्तपुर ३५, म्याग्दी ३५ र झापा ३२ जनामा डेंगीका बिरामी भेटिएका छन्।

लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन। सोही कारण संक्रमण दैनिक बढिरहेको छ। पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेछ ।

डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ। ती फुल लार्भा बन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेंगी संक्रमण हुन्छ।

नेपालमा पहिलो पटक सन् २००४ मा डेंगी देखिएको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ। सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content