काठमाडौं । फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको हो ।
कतारमा आयोजना भएको २२ औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधि साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।
सन् १९७८ र १९८६ पछि २०२२ मा अर्जेन्टिना तेस्रो पटक विश्वकपको उपाधि जितेको हो । फ्रान्सले यसअघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो ।
लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलको निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।
पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किँदा अर्जेन्टिनाले बाजी मा¥यो । अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रोपाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे ।
फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे । तर किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुके । कोम्यानको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले बचाए भने चुवामेनीको प्रहार बाहिरिएको थियो ।
त्यसअघि खेलमा सुरुवाती अग्रता अर्जेन्टिनाले बनाएको थियो । फ्रान्सका ओसुमाने डेम्बेलेले पेनाल्टी क्षेत्रभित्र डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर पाएको थियो । जसमा खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गरे । यस गोलसँगै विश्वकपमा कीर्तिमानी २६ औं खेल खेलेका मेस्सी समूह चरणबाट फाइनल चरणसम्म गोल गर्ने पहिलो खेलाडी बनेका छन् । खेलको ३६ औं मिनेटमा म्याक एलिस्टरको पासमा एन्जल डीमारियाले गोल गर्दै फ्रान्सलाई २–० गोलको अग्रता दिलाए ।
खेलको दोस्रो हाफमा एमबाप्पे चम्किदा फ्रान्सले पुनरागमन गर्यो । अर्जेन्टिनाका निकोलस ओटामेन्डीले राण्डल कोलो मुवानीले पेनाल्टी क्षेत्रमा लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । उक्त अवसरको सदुपयोग गर्दै खेलको ८० औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेर खेललाई २–१ को स्थितिमा ल्याए । खेलको ८१ औं मिनेटमा मार्कुस थुरामको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २–२ गोलको बराबरीमा ल्याए ।
थपिएको अतिरिक्त समयको १०९ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई पुनः ३–२ को अग्रता दिलाए तर, खेलको ११८ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३–३ गोलको बराबरीमा ल्याएका थिए । एम्बाप्पे विश्वकपको ९२ वर्षे इतिहासमा फाइनल खेलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि १९६६ मा इंग्ल्याण्डका जिओफ हर्स्टले फाइनलमा ह्याट्रिक गरेका थिए ।
मेस्सीलाई गोल्डेन बल अवार्ड
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतार विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल अवार्ड जितेका छन् । उनले यस विश्वकपको सबै ७ खेल खेल्दै जर्मनीका लोथार म्याथ्वुको नाममा रहेको २५ खेलको कीर्तिमान तोडेका छन् ।
त्यस्तै फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले कतार विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका छन् ।
गोलकिपर इमिलियानो मार्टिनेजले उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभ्स अवार्ड जितेका छन् ।