काठमाडौं । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार विभागीय टोली पुलिस क्लबले हिमालयन शेर्पा क्लबलाई सडन डेथमा हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरी भएपछि थपिएको अतिरिक्त समयमा पनि दुबै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा पनि ४–४ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय सडेन डेथबाट निर्णय लिएको हो ।
सडेन डेथमा हिमालयन शेर्पाका पूर्णबहादुर गुरूङको प्रहार नेपाल पुलिसका गोलकिपर रोशन खड्काले बचाएका थिए ।
सडन डेथमा पुलिसका बुद्ध लामा र राम वाजेले गोल गरेका थिए भने शेर्पाका जीवन गुरूङले मात्र गोल गरेका थिए।
यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुबै टोलीले १–१ गोल गरेका थिए । खेलको ५२ औं मिनेटमा निरकुमार राईले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५९ औं मिनेटमा कप्तान विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
पुलिसले अब अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिश्पर्धा गर्नेछ ।
यसअघि बिहीबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० ले हराउँदै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।
जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।