April 22, 2025

जसपा प्रदेश नं. १ को समायोजन सम्पन्न

सुनसरी । जनता समाजवादी पार्टी नेपालले प्रदेश १ को समायोजन कार्यक्रम सम्पन्न गरेको छ । इटहरीमा मंगलबार पूर्व जनता समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबिच समायोजन कार्यक्रम सम्पन्न गरेको हो ।

पार्टीले नेपालमा नम्बर एक वैकल्पिक पार्टी बनाउने संकल्पकासाथ १३३ सदस्यीय प्रदेश नम्बर १ कमिटी घोषणा गर्दै समायोजन सम्पन्न गरेको छ । अन्य ठाउँहरुमा जसपा नेपालको समायोजन हुँदै आएपनि प्रदेश नम्बर १ मा भने समायोजनको कार्य बाँकी रहेको थियो ।

जसपा प्रदेश नम्बर १ ले प्रविण चाम्लिङको अध्यक्षतामा १३३ सदस्यीय प्रदेश कमिटी चयन गरेर छ । चाम्लिङ विगतमा पूर्व समाजवादी पार्टीको तर्फबाट प्रदेश नम्बर १, प्रदेश कमिटीको अध्यक्ष पदमा जिम्मेवारी समाल्दै आएका थिए । अध्यक्ष चाम्लिङले समायोजन पश्चात् जसपामा गुटको राजनीति नचल्ने र जसपा आगामी दिनमा एक ढिक्का भएर अगाडि बढ्नेमा आफू ढुक्क रहेको बताएका छन् ।

यसैगरी पूर्व समाजवादी पार्टीकै तर्फबाट मुख्य सचिवमा प्रभुराम श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । डा. बाबुराम भट्टराईको तत्कालीन नयाँशक्ति पार्टीबाट राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका श्रेष्ठ पूर्व समाजवादी पार्टीको प्रदेश नम्बर १, प्रदेश कमिटीका मुख्य सचिव पदको जिम्मेवारी सम्हाल्दै आएका थिए । श्रेष्ठ समायोजित जसपामा पनि प्रदेश कमिटी मुख्य सचिव पदमा चयन भएका छन् ।

मुख्य सचिव श्रेष्ठले समायोजन पछि चयन भएको सबै प्रदेश कमिटीलाई बधाई एवं शुभकामना दिदै आगामी दिनमा जसपा नेपाल नेपालकै एक नम्बर पार्टी बनाउने र देशको बागडोर पनि जसपाले नै नेतृत्वले गर्ने विश्वास व्यक्त गरेका छन् । नेपालमा काँग्रेस, एमाले, माओवादी र अन्य पार्टीहरूमा राजनैतिक खडेरी परेको तथा नेपालको नेतृत्व गर्नै नसक्ने गरी बुढो भइसकेको हुँदा नेपालको राजनीति शुद्धीकरण गर्दै देशलाई समृद्ध बनाउन आफू र आफ्नो पार्टी लागि पर्ने बताएका छन् ।
उनले गुटको राजनीति सकिएकोले त्यसतर्फ कोही पनि नलाग्न र पार्टीको स्पिरिट, पार्टीको मूल्य मान्यतालाई आत्मासाथ गर्दै नेपालको आर्थिक समृद्धिमा लाग्न सम्पूर्ण कार्यकर्तालाई आग्रह गरेका छन् ।

त्यसैगरि नेता परशुराम बस्नेतले पार्टीले संचालन गरिरहेको सुज अभियानमा सशक्त भएर लाग्न र सुज अभियानलाई सफल पार्न आग्रह गर्दै धर्मको नाममा जथाभावी नबोल्न समेत आग्रह गरेका छन् ।

सम्बन्धित खबरहरु