काठमाडौं । बागमती प्रदेशका १२ जना सांसदले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा सनाखत गराएका छन् ।
मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराएका हुन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दल विभाजन भएको २१ दिनभित्र प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दलमा प्रवेशका लागि सनाखत गराउनुपर्ने हुन्छ । सोही बमोजिम बागमती प्रदेशसभाका एमालेका ५६ सांसदमध्ये १२ जनाले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् ।
सनाखत गराउनेमा सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालसहित अन्य सांसद राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई रहेका छन् ।
यस्तै, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ, राजेन्द्रमान श्रेष्ठ र माधव पौडेलले नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराएका छन् ।
प्रदेशसभामा १०९ सदस्यीय सांसदमध्ये नेकपा एमालेका सभामुखसहित ५६ सांसद थिए । १२ जना सांसद एमाले छाडेर नयाँ दलमा सामेल भएसँगै अब प्रदेशसभामा एमाले ४४ सांसदमा खुम्चिएको छ । योसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।