काठमाडौं । स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडाइका साथ जेठ २० गते मध्यरातसम्म जारी गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको हो ।
निषेधाज्ञालाई निरन्तरता दिएर नै कोभिडको चेन भत्काउन सकिने निष्कर्षसहित जेठ १४ बाट निषेधाज्ञालाई थप कडा पार्ने प्रजिअहरुले निर्णय गरेका छन् । मंगलबारको निर्णय अनुसार जेठ १४ बाट उपत्यका खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न पाइने छैन्। सरकारी कार्यालय, बैंक, इन्टरनेट सेवा प्रदायक संस्था र एनसेलका सवारी साधन बिहान साढे ९ देखि साढे १० सम्म चल्न पाउने छन् । त्यसैगरी बेलुका ५ बजेदेखि ६ बजेसम्म मात्र ती सवारी साधनहरु चल्न पाउँनेछन् ।
त्यस्तै निजी तथा सार्वजनिक निर्माण बन्द गर्ने र निर्माण सामग्री ढुवानीमा पनि रोक लगाउने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरबाट यसअघि जारी सबै सवारी पास रद्द गरिएको छ । आदेशको अवज्ञा गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–०७८ अनुसार कारवाही गरिने स्थानीय प्रशासनले चेतावनी दिएको छ ।