कागमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द्र ‘विप्लव’द्वारा शुक्रबार एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् । बिहीबार सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको वार्तामा ३ बुँदे सहमति भएसँगै प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चमा सम्बोधन गर्ने भएका हुन् ।
बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ । प्रेस नोटमा सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको उल्लेख छ ।
उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् ।
सहमतिको विस्तृत विवरण शुक्रबार विशेष समारोहका बीच सार्वजनिक गरिने सरकारका तर्फबाट रामबहादुर थापा विप्लव समूहको तर्फबाट प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।