५ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध आमहड्तालमा जाने चेतावनी दिएका छन् । सोमबार अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले माघ १६ गतेपछि आफूहरु आमहड्तालमा जाने चेतावनी दिएका हुन् ।
उनले अबका कार्यक्रम दैनिक सशक्त बन्दै जाने भन्दै त्यसका लागि तयारीमा लाग्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई हुर्किँदै गरेको बच्चाको संज्ञा दिँदै त्यसलाई बचाउन आन्दोलनको विकल्प नभएको बताउँदै ढिलो गर्न पनि नहुने र जनताको अदालत सबैभन्दा माथि हुने बताएका छन् ।
प्रचण्डले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको मात्र नभइ संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रकै विघटन गरेको आरोप लगाए । ओलीको सोच पहिलेदेखि नै प्रतिगमनकारी रहेको उल्लेख गर्दै अहिले आएर त्यो पुष्टि भएको उनले बताए ।
प्रचण्डले जनताको बहुदलीय जनवाद छोड्ने पहिलो व्यक्ति पनि ओली नै भएको बताए । ओलीले पार्टी एकता बेला सबैले हस्ताक्षर गरेको विचार र विधि विधानभन्दा बाहिर गएर नेकपा फुटाएको प्रचण्डले दाबी गरे ।
प्रचण्डले ओलीसँग सहकार्य गर्ने क्रममा आफूबाट पनि केही कमजोरी भएको स्वीकार्दै त्यसप्रति अहिले गल्ती महसुस भएको बताए । उनले भ्रममा परेर ओलीका पक्षमा गएकाहरुपनि अन्ततः आफ्नै पक्षमा आउने विश्वास व्यक्त गरे । अध्यक्ष प्रचण्डले अदालत र निर्वाचन आयोगप्रति आफ्नो पूर्ण विश्वास रहेको उल्लेख गर्दै सूर्य चिन्ह र नेकपाको आधिकारिकता आफूहरुले नै पाउने जिकिर गरेका छन् ।