२८ पुस, पोखरा । नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा र सूर्य चिन्ह आफ्नो नभए आँधीहुरी चल्ने बताए । मंगलबार पोखरामा भएको बृहत प्रशिक्षण सभालाई सम्बोधन गर्दै प्रचण्डले नेकपा र सूर्य चिन्ह यदि आफ्नो पक्षको भएन भने आँधीहुरी चल्ने बताएका हुन् ।
प्रचण्डले नेकपा र सूर्य चिन्ह आफुहरुकै हुनेमा विश्वस्त रहेको बताए । उनले झण्डै ७० प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको भन्दै उनले हिजोमात्रै निर्वाचन आयोगमा गएर पार्टीको अवस्थाबारे कुरा राखेको र निर्वाचन आयोगले निश्पक्ष निर्णय गर्नेमा विश्वास जागेको बताए ।
उनले विचार र सिद्धान्त छोडिसकेका ओलीले मदन भण्डारीको जनताको बहुदलीय जनवाद पनि छाडिसकेको बताए । अल्पमतमा परेका ओलीले केन्द्रीय समिति विस्तार गरेर नाटक गरेको भन्दै पार्टीभित्र अल्पमतमा परे भन्दैमा पार्टी नै फुटाउने, संविधान कुल्चने र संसद भंग गर्ने अधिकार कही नभएको उनले बताए । प्रचण्डले पार्टीभित्र विवाद भयो भनेर सार्वभौम संसदमा प्रहार गर्न मिल्छ भनेर जवाफ दिन सक्ने क्षमता ओलीसँग नभएको बताए ।
ओलीले दुनियाँलाई उल्लु र जनतालाई भेडा ठान्ने गरेको भन्दै गणतन्त्र सम्भव छैन, समावेसी समानुपातिक चाहिँदैन भन्ने ओली नै भएको जिकिर गरे ।
प्रचण्डले नेकपा भित्रको विवाद र बहस पदको लुछाचुडीका लागि नभएर विचार, विधिपद्दति र सिद्धान्तका लागि भएको बताए । पार्टीभित्र चलेको विवाद र बहसलाई पद वा लुछाछुडीका रुपमा व्याख्या गर्ने कोसिस भएकोले म के कुरामा विस्वस्त गराउन चाहान्छु भने यो पदका लागि भएको लडाइ होइन, विचार, राजनीति र सिद्धान्तका लागि हो उनले भने ।
उनले परिवर्तनका लागि योगदान गर्ने सहिद, वेपत्ता र घाइतेहरुलाई स्मरण गर्दै क्रान्तिका उपलव्धिका रक्षाका लागि एकतावद्ध हुनु नै अहिलेको आवश्यक्ता भएको बताए ।
केपी ओलीले जनयुद्ध भनेको कुहेको फर्सी भनेको उहाँसँग लागेका पूर्व माओवादीहरुले कसरी सुन्न सकेके हो ? भन्दै प्रचण्डले प्रश्न गरे । पार्टी एकताताका भएका सहमति र समझदारीको मर्म र भावना विपरित बोल्दा ती साथिहरु प्रतिक्रान्ति र प्रतिगमनको साक्षी भएर बस्नुभएको छ । के जनयुद्ध कुहेकै फर्सी हो त ? के केपी ओलीले गरेको हस्ताक्षर किर्ते हो ? ओली समूहमा लागेका पूर्व माओवादी नेताहरुलाई प्रचण्डले प्रश्न गरे ।
उनले पार्टीभित्रको लडाई भर्खर देखा नपरेको भन्दै पार्टी एकतादेखि नै कहिले सुसुप्त र कहिले बृहत रुपमा चल्दै आएपनि गत माघमा सम्पन्न केन्द्रीय समितिपछि यो लडाई थप बृहत भएको बताए ।