५ पुष, काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।
आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ओलीमाथि अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीले देश, जनता र पार्टीको भविष्यलाई नै अन्धकारतिर धकेल्ने तथा संविधानलाई असफल पार्ने कुकृत गरी गम्भीर विश्वासघात गरेको ठहर गर्दै यसको कानुनी उपचार खोज्ने स्थायी समिति बैठकले निर्णय गरेको छ ।
ओलीले आइतबार मन्त्रिपरिषदको बैठक मार्फत संसद विघटनको निर्णय गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन् । उनले मन्त्रिपरिषद्को सिफारिस बमोजिम २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनसमेत तोकेकी छन् ।