३ पुष, ओखलढुंगा । सुनकोशी ८ च्यानाम भोटेबारीका पहिरोको जोखिममा रहेका दलितहरुले नेताहरुप्रति आक्रोश व्यक्त गरेका छन् । नमुना बस्ति बनाउन सरोकार समिति गठन कार्यक्रममा जग्गा दाताले जग्गा दिए पनि सांसद, स्थानीय तहका जनप्रतिनिधि लगायत सरोकारवालाहरुले दिएको आश्वासन पुरा नहुँदा आक्रोश पोखेका हुन् ।
स्थानीय युवा समाजसेवी सन्तोषकुमार बस्नेतले सुनकोशी गाउँपालिका ८ आम्बोटेमा ५ रोपनी जग्गा सुनकोशी ८ भोटेबारीका पहिरोको जोखिममा रहेका २० घर दलित समुदायलाई नमुना बस्ति बनाउनका लागि रजिष्ट्रेसन पास गरेर दिएका थिए ।
जग्गाको लालपुर्जा हस्तान्तरण कार्यक्रममा संघिय तथा सांसद, स्थानीय तहका जनप्रतिनिधि लगायतका सरोकारवालाले तत्काल नमुना बस्तिका लागि प्रकृया अघि बढाउने आश्वासन दिएका थिए ।
च्यानमका दलित अगुवा भन्छन् ‘जग्गा पायौं दातासँग खुसी छौं, आश्वासन मात्रै पायौं नेतासँग दुःखी छौं’ उनीहरुले सरकारसँग वर्षाको समय अगावै नमुना बस्ति निर्माण गरी स्थानान्तरण गरिदिन माग गरेका छन् ।
दाताले दिएको जग्गामा बस्ति बसाएर पहिरोको जोखिममा रहेकालाई सुरक्षित स्थानमा सार्ने योजना अनुसार नमुना बस्ति बसाउन सरोकार समिति गठन गरिएको छ । दाताले जग्गा निःशुल्क उपलब्ध गराएको लामो समय सम्म नमुना बस्तिको काम अघि नबढेपछि पैरविका लागि सरोकार समिति बनाइएको हो । छत्रबहादुर बस्नेतको अध्यक्षमा गठित समितिको सचिवमा दिलबहादुर दर्जी, कोषाध्यक्षमा तुल्सी कुमारी श्रेष्ठ, सदस्यहरु ओमकुमारी दर्जी, कुमारी विश्वकर्मा, वृखबहादुर मगर, अमृत बस्नेत, नविक श्रेष्ठ, नैनकला बस्नेत रहेका छन् । यो समितिले च्यानममा नमुना बस्ति निर्माण र जोखिमयुक्त बस्ति स्थानान्तरणमा सरकार र सरोकारवालासँग समन्वय सहितको आवश्यक भूमिका खेल्ने
जनाइएको छ ।