२५ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप २२ जनाको मृत्यु भएको छ, भने २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ५ जना महिला र १७ जना पुरुष गरी देशभर कोरोनाभाइरसबाट २२ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै मृतकको कुल संख्या ६३६ पुगेको छ ।
त्यस्तै, बितेको २४ घण्टामा देशभर ७०२ जना महिला र १ हजार ३६९ जना पुरुष गरी २ हजार ७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।
प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा १ हजार १४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ जना गरी काठमाडौं उपत्यकामा गएको २४ घण्टामा थप १ हजार ४१६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको मन्त्रालयले जनाएको छ । जसमा संस्थागत आइसोलेसनमा १३ हजार ६४९ जना र होम आइसोलेसनमा १७ हजार ६६६ जना रहेका छन् । भने आईसीयूमा ३ सय २९ र भेन्टिलेटरमा ७६ जना संक्रमित उपचाररत रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ५५२ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । यससँगै देशभर कोरोनाबाट निको हुनेको कुल संख्या ७५ हजार ८०४ पुगेको छ ।
आज १२ हजार ४२७ जनाको पीसीआर परीक्षण भएको छ ।