१८ भदौ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार बसेको नेकपाको सचिवालय बैठकमा राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठकलाई जानकारी गराएको बताए । यसअघि अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने कि गौतमलाई भन्ने विषयमा पार्टीभित्र विवाद देखिएको थियो ।
प्रधानमन्त्री ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा रहेपनि अर्का अध्यक्ष प्रचण्डलगायतले गौतमलाई निरन्तरता दिनुपर्ने बताएका थिए । गौतमले पनि अहिले प्रतिनिधिसभा सदस्य बन्न अनुकल अवस्था नरहेकाले आफू राष्ट्रियसभामा जान तयार रहेको बताएका थिए ।
गत फागुन १४ गतेको नेकपा सचिवालय बैठकले पनि उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न पार्टीको तर्फबाट निर्णय गरेको थियो । यही महिनाको २० गते खतिवडाको रष्ट्रियसभाको कार्यकाल सकिने भएपछि उनको ठाउँमा गौतमलाई पठाउने गरी सचिवालयले निर्णय गरेको थियो ।
यस्तै कार्यदलको प्रतिवेदनबारे पनि बैठकमा छलफल भइ ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको छ ।