July 27, 2024

बुद्धि विकास मण्डलको वार्षिकोत्सवमा कविगोष्ठी

बुद्धि विकास मण्डलको वार्षिकोत्सवमा कविगोष्ठी

ललितपुर । वसन्तपञ्चमीका अवसरमा बुद्धि विकास मण्डलले कविगोष्ठी आयोजना गरेको छ । आफ्नो वार्षिकोत्सव अवसरमा ललितपुरस्थित लगनखेलले उत्साहपूर्वक कविगोष्ठी सम्मन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले कविगोष्ठीको उदघाटन गर्दै दही जस्तै ६६ वर्षदेखि सीमित घेराभित्र जमेर बसेको प्रज्ञा–प्रतिष्ठानलाई चलायमान र तरङ्गीत पार्दै विविध विषय वस्तुमाथि प्राज्ञिक बहस गर्दा कतिपयलाई असह्य भएको बताए । उनले गाउँगाउँका समुदायको रैथाने ज्ञान, सीप र प्रत्येक विषयमा प्रज्ञा–प्रतिष्ठानले विमर्श थाल्दा कतिपय परम्परावादीहरू तरङ्गीत भएको बताएका छन् । अपवाद छाडेर कवि वा साहित्यकारले भ्रष्टाचार गरेको पाइदैन । त्यसकारण कविगोष्ठीको आयोजना गरेर बुद्धि विकास मण्डलले कवि चेतनालाई मुखरित गरेकोमा उनले खुसी व्यक्त गरे ।

यसैगरी नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य चेतनाथ धमलाले शुभकामना मनतव्यका क्रममा सरस्वतीलाई नेपाली समाजले विद्याको प्रतीकको रूपमा स्वीकार गरेको बताउँदै कविता विचार, कला र सौन्दर्यद्वारा प्रदत्त हुने विषयमा जोड दिए । उनले प्राविधिक रूपमा शब्द र वाक्य जोड्दैमा कविता हुन नसक्ने उल्लेख गर्दै कविता समेत सुनाउएका थिए ।

यस कार्यक्रमका अतिथि ललितपुर महानगरपालिकाका वर्डा न. ५ का अध्यक्ष विकासमान श्रेष्ठले बुद्धि विकास मण्डलले विभिन्न सहयोग, सांस्कृतिक र सामाजिक काम गर्दै आएको बताए । साथै संस्थाले कविगोष्ठी आयोजना गरेकोमा प्रशंसा गर्दै कविता भनेको जीवन हो । यस प्रकारका गतिविधिलाई अघि बढाउनु पर्नेमा उनले जोड दिए ।

कविगोष्ठीमा पुरुषोत्तम ढुङ्गाना, पुनम निरौला, शोभादेवी प्रधान श्रेष्ठ, राधा चालिसे, सुनिल पुरी, मणिराज सिंह, राधा कार्की, अर्पणा केसी, द्वारिकानाथ खनाल, चन्दना अर्याल, बुद्धि महर्जन र सिर्जना सरोवर लगायतले कविता वाचन गरेका छन् ।

यसैगरी बुद्धि विकास मण्डलका कोषाध्यक्ष तथा कविगोष्ठीका संयोजक केदार कार्कीले स्वागत मनतव्यसहित कार्यक्रमका बारेमा प्रकाश पार्दै २०१० सालमा स्थापना भएको ७० वर्ष पुरानो यस संस्थाले विभिन्न खेलकुद, सामाजिक र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । यसपटक वार्षिकोत्सवको अवसरमा नेपालका वरिष्ठ र नयाँ कविहरूलाई समेटेर कविगोष्ठी राखिएको छ । यस कविगोष्ठीले संस्थालाई अवस्य नयाँ उत्साह प्रदान गर्ने छ उनको भनाइ छ ।

यसैगरी बुद्धि विकास मण्डलका अध्यक्ष पवनकुमार राना मगरको अध्यक्षतामा वार्षिकोत्सव तथा कविगोष्ठी सम्पन्न भएको थियो । यसै सन्दर्भमा धन्यवाद ज्ञापनसहित उहाँले यस संस्थाले खेलकुद र सामाजिक क्षेत्रमा गतिविधि गर्दै आइरहेको छ । कुनै पनि विचार र चेतनाको उच्चतम रूप कवि वा साहित्यकारमा हुने भएकाले संस्थाको वार्षिकोत्सवको अवसरमा कविगोष्ठीको आयोजना गरिएको बताए ।
यस संस्थाका सचिव सुधाकर ढुङ्गानाले कविगोष्ठीको सञ्चालनसहित कविता वाचन गरेका थिए ।

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content