July 27, 2024

‘मगर आदिकवि रेखबहादुर थापाको योगदान’ विषयक विचार गोष्ठी सम्पन्न

‘मगर आदिकवि रेखबहादुर थापाको योगदान’ विषयक विचार गोष्ठी सम्पन्न

काठमाडौँ । मगर आदिकवि रेखबहादुर थापाको योगदान’ विषयक विचार गोष्ठी सम्पन्न सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानसँगको सहकार्यमा मगर आदिकवि द्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्ती अवसरमा प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभा कक्षमा ‘मगर आदिकवि रेखबहादुर थापाको योगदान’ विषयक विचार गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सम्माननीय उपसभामुख इन्दिरा राना मगरले मातृभाषा र सिर्जनामा इतिहास र सभ्यता लुकेको बताइन् । संविधानले जातजाति र भाषाभाषीलाई समावेशी अधिकार प्रदान गरेको र यसलाई उपयोग गर्दै प्रज्ञा–प्रतिष्ठानले थालनी गरेकोमा खुसी व्यक्त गरिन । ‘मातृभाषा साहित्यको बहस अन्तर्गत मगरभाषा साहित्यका आदिकविको योगदानबारे चर्चा हुनु राज्यका प्राज्ञिक अङ्गको उपस्थिति हुनु हो’ उनले भनिन् ।

यस कार्यक्रममा ‘मगर आदिकवि रेखबहादुर थापाको योगदान’ विषयक गोष्ठी पत्र पूर्णबहादुर रानाले प्रस्तुत गरेका छन् ।

त्यस्तै प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले बहुभाषी देशमा सबै भाषा समान हुन । कुनै पनि भाषा सानो र ठुलो हुँदैन भन्दै द्वय मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापाको बारेमा थप खोजअनुसन्धान हुनुपर्ने बताए ।

यसैगरि प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा) ले नेपालका प्रत्येक मातृभाषामा आदिकविहरु भएको बताउँदै तिनीहरूको योगदानलाई राष्ट्र र समाजसामू ल्याउनुपर्ने बताए ।

विचार गोष्ठीका सभाध्यक्ष प्रज्ञा–प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले मगर आदिकवि द्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापाको ऐतिहासिक योगदानबारे थप खोजी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रस्तुत गोष्ठी–पत्रमाथि मनबहादुर थापा मगरले टिप्पणी गरेका छन् । उक्त विचार–गोष्ठीको औचित्यमाथि प्रकाश पार्दै जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन श्याम राना मगरले गरेका छन् ।

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content