February 27, 2024
Comp-1-1

त्रिपन्नौँ संस्कृत दिवस सम्पन्न

त्रिपन्नौँ संस्कृत दिवस सम्पन्न
Comp-1-1

काठमाडौँ । त्रिपन्नौँ संस्कृत दिवस सम्पन्न भएको छ । संस्कृत–भाषाको संरक्षण, सम्वर्द्वन गर्दै वक्ता र प्रयोक्ताको ध्यानाकर्षण गर्ने उद्वेश्यले नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठअनुसन्धान व्यवस्थापन केन्द्र र भारतीय राजदूतावास स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको सहकार्यमा त्रिपन्नौँ संस्कृत दिवस मंगलबार एक समारोहबीच सम्पन्न भएको हो ।

सो समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले संस्कृतभाषा पूर्वीय वाङ्मयको अथाह स्रोत र विभिन्न मातृभाषाको जननी भएको बताए । उनले भने यसको पुष्टि समारोहमा प्रस्तुत गरिएका कार्यपत्रले गरेको छ। ‘सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा–प्रतिष्ठान’भन्ने नारासहित १३० भन्दा बढी मातृभाषा र साहित्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानले काम गर्न थालिसकेको उनको भनाइ छ । कुलपति राईले यसलाई आत्मसात् गर्न नसक्नेहरूले नेपाली भाषाप्रति पूर्वाग्रह राखेको आरोप लगाउनु पूर्वाग्रहबाहेक केही नभएको बताउँदै संस्कृतलगायत प्रत्येक मातृभाषालाई उच्चसम्मानका साथ हेरेको बताएका छन् ।

यस समारोहका विशिष्ट अतिथि चिन्मय विश्वविद्यालयका पूर्वकुलपति तथा चिन्मय इन्टर्नेसनल संस्थाकी निर्देशक प्राध्यापक माहुलीकरले संस्कृतभाषाका महाकवि कालिदासले नेपालको गौरवमय हिमाली सभ्यता र दर्शनमाथि प्रकाश पार्दै संस्कृत दिवसको महत्वबारे जोड दिइन्।

विशिष्टअतिथि वाल्मीकि विद्यापीठका पूर्व प्राचार्य डा. गणेशप्रसाद घिमिरे, वाल्मीकि विद्यापीठका प्राचार्य डा. भागवत ढकाल, नेसंवि अनुसन्धान केन्द्रका पूर्वनिर्देशक प्रा. डा. काशीनाथ न्यौपाने र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रकी निर्देशक आशावरी वापटले मन्तव्य व्यक्त गरेका छन् ।

यसै सन्दर्भका तीनवटा कार्यपत्रमा प्रा.डा. जीवन अधिकारीले ‘आदर्शप्रयोगस्य दृष्टान्तो महाकविः कालिदासः’ डा. प्रियंवदाम्बा काफ्लेले ‘संस्कृतसाहित्ये महिलानां वैदुष्यप्रतिपादनम्’ र डा. प्रमोदवर्धन ः कौण्डिन्न्यायनः ले ‘नैपालकसंस्कृतविदुषां विगतपञ्चाशद्वर्षेषु प्रकाशितानां ग्रन्थानां संक्षिप्तं पर्यालोचनम्’ प्रस्तुत गरे ।

यस समारोहका विशेष अतिथि वाल्मीकि विद्यापीठकी सहायक प्राचार्य डा. रमा भट्टराई, प्रा.डा. देवमणि भट्टराई, प्रा. डा. माधवप्रसाद पाण्डेय, डा. माधव लामिछाने, डा. रामप्रसाद पौडेल र उपप्राध्यापक हिमालय भट्टराई लगायतले प्रस्तुत कार्यपत्रमाथि टिप्पणीसहित सुझाव दिएका छन् ।

यसै समारोहमा भारतबाट नेपाल आउनुभएकी विशिष्ट विदुषी गौरी माहुलीकर विशेष उपहारद्वारा सम्मान गरिएको छ । साथै प्रा.डा. जीवन अधिकारी र डा. प्रियंवदाम्बा काफ्ले र डा. प्रमोदवर्धनःकौण्डिन्न्यायनःलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस समारोहमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावासका निर्देशक बापटले स्वागत तथा धन्यवाद मन्तव्य राखेका छन् ।

यसैगरी तीन सत्रमा सम्पन्न भएको संस्कृत दिवस समारोहको पहिलो सत्रको अध्यक्षता वाल्मीकि विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइका संयोजक शान्तिकृष्ण अधिकारी, दोस्रो सत्रको अध्यक्षता वाल्मीकि विद्यापीठका प्राचार्य डा. भागवत ढकाल र तेस्रो अर्थात् समापन सत्रको अध्यक्षता प्रा.डा. काशीनाथ न्यौपानेले गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाल वाल्मीकि विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइका सदस्य सचिव डा. प्रेमराज न्यौपानेले गरेका थिए ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content