March 4, 2024
Comp-1-1

साइनो वाङ्मय चौतारी पाँचौ वार्षिकोत्वस सम्पन्न

साइनो वाङ्मय चौतारी पाँचौ वार्षिकोत्वस सम्पन्न
Comp-1-1

काठमाडौँ । साइनो वाङ्मय चौतारी पाँचौ वार्षिकोत्वस सम्पन्न भएको छ । कविताको लघुत्तम र सूत्रबद्ध उपविधा साइनोको प्रवर्द्धन गर्ने उद्वेश्यले स्थापना भएको ‘साइनो वाङ्मय चौतारी’को नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा पाचौँ वार्षिकोत्सव सम्पन्न भएको हो ।

यस अवसरमा प्रमुख अतिथि तथा प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति राई लगायतले सामूहिक रूपमा ७० जनाद्वारा रचित संयुक्त साइनो सङ्ग्रह ‘साइनो चौतारी’, डा. छाया दत्त न्यौपानेद्वारा रचित ‘साइनो सिर्जना’, डा. सीता सुवेदी पन्थीद्वारा रचित ‘साइनो सुमन’, शेखर अर्यालद्वारा रचित ‘साइनो मन्जरी’, र जमुना कायस्थद्वारा रचित ‘साइनोको मुनाहरु’ लोकार्पण गरिएको छ।

यसैक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले छोटो अवधिमै साइनो कविता विभिन्न भाषामा सिर्जना हुनसक्नु महत्त्वपूर्ण उपलब्धि भएको बताए । उनले यसको प्रभाव विश्वव्यापी बनेको बताउँदै यसको साधनालाई साइनोकारले अझै परिष्कृत गरेर थप स्थापित गर्नु पर्नेमा जोड दिए । नेपाल प्रज्ञा–प्रतिष्ठानले अरू संस्थाहरूसँग जस्तै साइनो वाङ्मय चौतारी नेपालसँग पनि सहकार्य गर्दै अघि बढ्न चाहेको उनलको भनाई थियो ।

यसै सन्दर्भमा विशिष्ट अतिथि तथा प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य डा. मधुसूदन गिरीले विविध भाषाका ७० जना स्रष्टाका ७०० रचनायुक्त ‘साइनो चौतारी’को समीक्षा गर्दै जापानी हाइकुको उचाइमा पुर्‍याउन स्रष्टाहरूले अझै साधना गरी आगमन विधिअनुरूप सिद्धान्त निर्माण गर्नुपर्ने कुरामा जोड दिए ।

यसैगरी विशिष्टअतिथि तथा प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य डा. कौशिला रिसालले साइनो प्रवर्तक डा. छायादत्त न्यौपानेको साइनो ‘सिर्जना सङ्ग्रह’ साधना र आत्मविश्वासको प्रतिफल बताइन् । उनले साधनामा सर्जकहरूको विश्वास र समर्पणले विश्वका स्रष्टाबिच प्रिय बन्नसक्नु ठूुलो उपलब्धि भएको भन्दै बधाई तथा सफलताको शुभकामना दिइन् ।

यस्तै विशिष्ट अतिथि तथा स्रष्टा–द्रष्टा प्रा.डा. रामप्रसाद ज्ञवालीले नेपाली साइनो विश्वमा फैलिन सकोस् र सिर्जनात्मक क्षमता अझ झाङ्गिएर जाओस् भन्दै सफलताको शुभकामना दिएका छन् ।

यसै सिलसिलामा विशिष्ट अतिथि तथा समालोचक प्रा.डा. षडानन्द पौड्यालले साइनो सिर्जनामा नेपाली मनमाटोको सुगन्ध लिएर विश्वव्यापी भइसकेकाले यसको विकासमा अझै तीव्रता दिनुपर्ने कुरामा जोड दिँदै यो स्थापित भइसकेको बताए ।

यसैगरी विशिष्ट अतिथि तथा समालोचक डा.यज्ञश्वर निरौलाले साइनोलाई गेयात्मक बनाउन सके अझै लोकप्रियता बढ्ने विषयमा जोड दिए ।

यसैक्रममा विशिष्ट अतिथि तथा समालोचक विष्णु ज्ञवालीले साइनोको सानो संरचनामा जीवनको गहिराइ समेट्नुपर्ने चुनौती रहेको कुरा बताए।

यसै सिलसिलामा विशिष्ट अतिथि तथा साइनोका प्रवर्तक डा.छायादत्त न्यौपानेले साइनो कविता लघुत्तम उपविधा भएको बताउँदै यसको आन्तरिक संरचना क्रमशः पहिलो, दोस्रो र तेस्रो पङ्क्ति स्वतन्त्र अर्थसहित अन्तरसम्बन्धित हुन्छन् भने बाहय संरचना क्रमबद्ध ७, ८ र ९ अक्षरका तीन पङ्क्ति हुने बताए ।
उनले साइनो सिर्जनामा प्रयुक्त अक्षर गणना व्यवहारिक अर्थात् लेख्य परम्पराको व्याकरणअनुरूप गरिन्छ भन्दै सैद्धान्तिक पक्षबारे चर्चा गरे । अहिले सयौँले साइनोको सिर्जना गरिरहेका छन् । साइनो समस्त नेपालीको साझा सम्पदा हो । यसको प्रवर्द्धनमा सबै नेपालीको साझा दायित्व भएको उनको भनाई थियो । साइनो नेपाली जनजीवन, प्रकृति र भूगोलको सुगन्ध लिएर विविध भाषा–भाषिकाहरूमा सिर्जना भई विश्वमा फैलिएको छ भन्दै यसको विकासमा लाग्ने सबै स्रष्टालाई धन्यवाद व्यक्त गरे ।

साइनो बाङ्मय चौतारीका सल्लाहकार केशव ज्ञवालीले साइनो सिद्धान्त र सिर्जनात्मक प्रकृयाबारे उल्लेख गर्दै स्वागत मन्तव्य राखेका थिए ।

संस्थाका महासचिव बालकुमार क्षेत्रीले साइनो कविता शिल्प र सिर्जना, संस्थाको विकासक्रम बारे उल्लेख गर्दै संस्थाको वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

संस्थाका सचिव शेखर अर्यालले सबै अतिथिहरूमा धन्यवाद ज्ञापन गर्दै सबै स्रष्टाहरू स्वतस्फूर्त साइनो प्रवर्द्धनमा लागेकोमा खुसी व्यक्त गरे ।

संस्थाका कोषाध्यक्ष शान्त पन्थीले विमोचित कृतिबाट रचना २–२ रचना वाचन गरेका थिए ।

कार्यक्रम सञ्चालनका क्रममा संस्थाका सदस्य डा. शेखरकुमार श्रेष्ठले साइनो अब स्थापित भई स्रष्टाको मनमस्तिष्कमा रहिसकेको बताए ।

संस्थाका अध्यक्ष डा. सीता सुवेदी पन्थीले साइनो नेपाली माटोको मौलिक सुगन्ध हो । यस सिर्जनाकर्ममा कैयन् साइनोकार सिर्जनारत रहनुले साइनोको भविष्य सुन्दर रहेको बताउँदै कार्यक्रमको समापन गरिन ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content