February 27, 2024
Comp-1-1

‘पुँजीपतिहरुले सर्वहारा वर्गको अधिनायकत्वलाई तानाशाही ठान्दछन्’

‘पुँजीपतिहरुले सर्वहारा वर्गको अधिनायकत्वलाई तानाशाही ठान्दछन्’
Comp-1-1

तत्कालीन नेकपा माओवादीले आजकै दिन २०५२ साल फागुन १ गते दीर्घकालीन जनयुद्धमा जाने उद्घोष गर्‍यो । देशमा आमूल परिवर्तन ल्याउन तत्कालीन राज्य र माओवादीबीच १० वर्षसम्म घमासान गृहयुद्ध चल्यो । 

तत्कालीन सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे सहमति भएपछि २०६२/०६३ सालको जनआन्दोलनबाट राजतन्त्रको अन्त्य भई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । सोही दिनलाई माओवादी केन्द्रसहित विभाजित माओवादीहरूले विभिन्न कार्यक्रम आयोजना गरी जनयुद्ध दिवस मनाउँदै आएका छन् । 
यसै सन्दर्भमा जनयुद्ध दिवसको उपलक्ष्यमा जनयुद्धको योगदान, त्यसको महत्त्व, जनयुद्धबाट प्राप्त भएका उपलब्धि र पार्टीले लिने आगामी योजना र कार्यक्रमका विषयमा नेकपा माओवादी केन्द्रका उपमहासचिव मात्रिका यादवसँग रातोपाटीकर्मी वीरेन्द्र ओलीले गरेको कुराकानीको सम्पादित अंशः 

यस वर्षको जनयुद्ध दिवस पार्टीले कसरी मनाउँदै छ ? 

महान् जनयुद्ध सुरु भएको आज २८ औँ वर्ष प्रवेश गर्‍यो । यो दिन पार्टी केन्द्रले पेरिसडाँडामा भव्य रूपमा कार्यक्रम आयोजना गरेर मनाउँदै छ । अरू प्रदेश, जिल्ला र पालिकाले पनि आ–आफ्नो अनुकूलतामा मनाउँदै छन् ।

कर्णाली प्रदेश र बाग्मती प्रदेश सरकारले सार्वजनिक बिदा दिएर भव्य रूपमा मनाउने मनाइराखेका छन् । मधेस प्रदेश सरकारले गत वर्ष नै सार्वजनिक बिदा दिएर मनाइ सकेकाले यो वर्ष पनि निरन्तरता दिएको छ ।  क्रान्ति भन्ने वित्तिकै मान्छेहरुलाई बन्दुकै चलाउँछन् कि भन्ने आभास हुन्छ । हिंसात्मक गतिविधि गर्छन् कि भन्ने पनि पर्छ । त्यस्तो रुपमा बुझ्नु हुँदैन ।

कतिपय प्रदेशमा प्रधानमन्त्रीसमेत सहभागी भएर मनाउने कार्यक्रम छ भने मधेस प्रदेशमा उपराष्ट्रपति सहभागी भएर जनयुद्ध दिवस मनाउँदै छौँ । अरू नेता, कार्यकर्ता र शुभचिन्तक तथा आमजनताले आ–आफ्नो अनुकूलतामा जनयुद्ध दिवस मनाइरहेका छन् । एक आपसमा खुसी साटासाट र शुभकामना आदानप्रदान भइरहेको छ ।

कतिपयलाई जनयुद्ध दिवसै किन मनाउनु पर्‍यो भन्ने पनि छ नि ?

म तपाईंमार्फत् आमनेता, कार्यकर्ता, शुभचिन्तक र जनतामा के हार्दिक अपिल गर्न चाहन्छु भने जनयुद्धले नै यो देशमा राजनीतिक रुपमा आमुल परिवर्तन ल्याउन सफल भएको हो ।

अब आर्थिक र सामाजिक रुपमान्तरण गर्दै आमजनताको जीवनस्तरमा कसरी परिवर्तन ल्याउने भन्नेमा लाग्नुपर्ने छ । यो भइरहेको क्रान्तिलाई कसरी निरन्तरता दिएर अघि बढाउने ? यी दुबै पक्षलाई जोडेर देशमा आर्थिक समृद्धि हासिल गर्नुपर्ने छ ।

माओले भने जस्तै निरन्तर क्रान्तिको सिद्धान्त अबलम्बन गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । क्रान्ति भन्ने वित्तिकै मान्छेहरुलाई बन्दुकै चलाउँछन् कि भन्ने आभास हुन्छ । हिंसात्मक गतिविधि गर्छन् कि भन्ने पनि पर्छ । त्यस्तो रुपमा बुझ्नु हुँदैन । अहिलेको परिस्थितिमा समय अनुकुल क्रान्तिलाई अघि बढाउनु पर्ने आवश्यकता देखिएको छ ।पार्टीको सिद्धान्त र लक्ष्य नै छोड्ने कुरा कुनै पनि क्रान्तिकारीको कर्तव्य र इमान्दारिता होइन ।

मालेमा सिद्धान्त वर्ग संघर्ष, सर्वहारा वर्गको अधिनायकत्व, स्वामित्वको कुरोलाई अंगीकार गरेर जानुपर्ने छ । पुँजीपतिहरुले आफ्नो अधिनायकत्वलाई अधिनायकत्व ठान्दैनन् । सर्वहारा वर्गको अधिनायकत्वलाई तानाशाही ठान्दछन् ।

मुख्य कुरा स्वमित्वको कुरा हो । देशको सम्पूर्ण स्वामित्व जनताको हातमा हुन्छ कि दलाल पुँजीपतिहरु र नोकरशाहीको हातमा हुन्छ भन्ने हो । त्यो विषयमा बहस कायमै छ । दलाल पुँजीपतिहरु र नोकरशाहीले त जनयुद्ध दिवस किन मनाउनु पर्‍यो भनिहाल्छन् नि ।

माओवादीको क्रान्तिकारी धार त सकियो भन्छन् नि ?

हामी कहिलेकाँही सम्झौताको नाममा सम्झौतापरस्त कुरा गर्ने गरेका छौँ । मुख्य कुरा परिस्थितिमा फरक आउन सक्छ । परिस्थितिमा हेरफेर आएपनि सिद्धान्त र लक्ष्य कहिल्यै छोड्न हुँदैन । बाटो बदल्न सकिन्छ थोरै घुमाउरो हुन सक्छ । वैचारिक विकासविना राजनीति स्पष्ट हुँदैन । राजनीतिक दिशासमेत स्पष्ट नभएमा संगठनात्मक कामसमेत केही हुँदैन ।

पार्टीको सिद्धान्त र लक्ष्य नै छोड्ने कुरा कुनै पनि क्रान्तिकारीको कर्तव्य र इमान्दारिता होइन । आधारभूत कम्युनिस्ट सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्छ । त्यो जड्तामा होइन, सिर्जनशीलताको नाममा क्रान्तिका आधारभूत विषयलाई समाएर अघि बढ्नुपर्छ ।

कहिलेकाँही उठ्ने गर्छ । भौतिकवाद र अध्यात्मवादलाई फ्युजन गर्ने, त्यो गलत कुरा हो । अध्यात्मवादले कतिपय वैज्ञानिक कुराहरुलाई आफ्नो कब्जामा राखेको छ, त्यसलाई आमजनता अघि सारेर हामीले टुटाई दिनुपर्छ । ती वैज्ञानिक विकास र विषयबस्तुहरुलाई अघि लिएर क्रान्तिमा अघि बढ्नुपर्छ । वैज्ञानिकताको नाममा शोषण दमन भएको विषयलाई परास्त गरेर जानुपर्छ ।

हाम्रो पार्टीमा जुन वैचारिक विकासको समस्या छ । वैचारिक विकासविना राजनीति स्पष्ट हुँदैन । राजनीतिक दिशासमेत स्पष्ट नभएमा संगठनात्मक कामसमेत केही हुँदैन ।

मुख्य कुरा राजनीतिमा विचार नै हो । विचारको विकास गर्दै परिवर्तन गर्नु अहिलेको आवश्यकता हो । वास्तवमा हामीले विचारको विकास गर्न सकेका छैनौँ । विचारको विकास नहुँदा नै हामी थोरै अलमलमा परेका छौँ । त्यसैले हामी सबै विचारको विकास गरेर अघि बढ्ने दृढता व्यक्त गर्नैपर्छ । हामी सबैले भन्ने गर्छौँ, मार्क्सवाद गतिशील हो भनेर । तर गतिशीलताको नाममा भ्रष्टीकरण गर्नेतिर भने जानु हुँदैन ।

जनयुद्धमा हिमालदेखि तराईसम्म जनजातिदेखि मधेसीलगायत हजारौँ उत्पीडित समुदाय, क्षेत्र, लिङ्गले बलिदान र संघर्ष गरेकोलाई कसरी स्मरण गर्नुहुन्छ ?

त्यो बेला पार्टी एकतावद्ध थियो । हामी सबैको दिमागमा बाँच्छु भन्ने थिएन । हामी सबैको सामूहिक कर्म र प्रतिबद्धता यो देशमा जनवादी क्रान्ति कसरी सफल गरेरै छाड्ने भन्ने थियो । फेरि सहिदका सपनालाई साकार पार्ने संकल्प लिएर अघि बढेमा तमाम समस्या हल गर्न सकिन्छ भन्ने लाग्छ ।

जनतालाई सामन्ती व्यवस्थाबाट मुक्त गरेर गरिबी, अभाव, अन्याय, अत्याचारबाट मुक्त गरेर जाने मात्रै चिन्तन थियो । जनताका लागि जुनसुकै अवस्थामा बलिदान दिनु परे दिन तयार हुनुपर्छ भन्ने सामूहिक संकल्प थियो ।

तर, अहिले आएर आफूलाई मात्र केन्द्रमा राख्ने प्रवृत्तिको विकास हुँदै गयो । वाँकी कार्यकर्ता, शुभचिन्तक, जनता सबै भाँडमा जाए भन्ने खालको भयो ।

अब फेरि पनि त्याग, तपस्या र बलिदानलाई प्राथमिकता दिएर पार्टी निर्माण गर्दै हजारौँ उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायको मुक्तिमा लाग्नुपर्छ ।

म यो भन्दिन कि तपाईं नखानुस्, नसुत्नुस्, लुगा नलगाउनुस् । तर, जनतालाई हेर्नुस् । जनताको अवस्था कस्तो छ ? हेर्नोस् ।  

ती महान सहिदहरुकै बलमा यो देशमा परिवर्तन आउन सम्भव भएको हो । उनीहरुकै बलिदान र संघर्षको जगमा हामी नेता भएका छौँ । फेरि सहिदका सपनालाई साकार पार्ने संकल्प लिएर अघि बढेमा तमाम समस्या हल गर्न सकिन्छ भन्ने लाग्छ ।जनयुद्धले ल्याएका परिवर्तनमाथि बिस्तारै हमला हुँदै जान थाल्यो । पार्टीकै नेता, कार्यकर्तामा पनि जनयुद्ध दिवसको महत्व घट्दै गयो ।

पहिले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा देशैभर आमसभा कार्यक्रम आयोजना गरी मनाइन्थ्यो । अहिले आएर किन पार्टी कार्यालय र पार्टी प्यालेसमा मात्र मनाउनुपर्ने अवस्था आयो ? 

मैले अघि पनि भनिसकेको छु । कतिपयलाई जनयुद्ध भन्ने वित्तिकै मन पर्दैन । यो जनयुद्धमा सहभागी नहुनेहरुको कुरा हुन सक्छ । कतिपय जनयुद्धमा सहभागी नभएपनि आन्दोलन ठिक थियो भन्नेहरु छन् । कतिपय जनयुद्धमा लागेकालाई भ्रम छरेर जनयुद्ध नै ठिक थिएन कि ? भन्ने भ्रम पार्न खोज्नेहरु छन् । यी विविधखाले विचारहरुको संयोजनले नै जनयुद्ध दिवस सानो घेरामा मनाउने अवस्था आएको हो ।

जनयुद्धका बेला जनस्तरमा व्यापक रुपमा मनाउने गथ्र्यौँ । जनताले हर्षोल्लासका साथ मनाउने गर्थे । पछिल्लो अवस्थामा चुनावमा पार्टी खुम्चिदै गयो । नेता कार्यकर्तामा उत्साह घट्दै गयो ।

त्यसपछि जनयुद्धले ल्याएका परिवर्तनमाथि बिस्तारै हमला हुँदै जान थाल्यो । पार्टीकै नेता, कार्यकर्तामा पनि जनयुद्ध दिवसको महत्व घट्दै गयो । हामी सबैमा जनयुद्ध दिवसप्रति उदासीनता हुनु भनेको क्रान्तिप्रतिको उदासीनता हो ।

जनयुद्ध दिवसको महत्वलाई भुल्दै गयो भने रुपान्तरणको कल्पना गर्न सकिदैन । हाम्रो अनुहार देखाउने भनेको मालेमावाद हो । त्यसलाई वेवास्ता गरेमा परिणाम राम्रो हुँदैन । जसरी जनयुद्ध दिवस जुन उत्साहका साथ देशैभरी मनाउनुपर्ने थियो, त्यो हुन सकेको छैन । तर, कतिपय प्रदेशले सार्वजनिक विदा दिएर भव्य रुपमा जनयुद्ध दिवस मनाउन थालेकोलाई सकारात्मक रुपमा लिनुपर्छ ।मधेसमा पार्टीको अवस्था किन यस्तो भयो ? पश्चिम तराईमा किन नागरिक उन्मुक्ति जस्ता पार्टीको उदय भयो ? यी सबै हाम्रै आँखा अगाडि छन् ।

माओवादी चार पटक सरकारमा गयो । तर, सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता आयोगमा भएका मुद्धाहरु सम्बोधन भएनन् । कतिपय घाइते अपाङ्गहरुले जिउमा गोली छर्राहरु लिएर हिँड्नु परेको छ । व्यवस्था परिवर्तन गर्न लडियो, अवस्था कहिले परिवर्तन हुन्छ भनेर माओवादी नेता कार्यकर्ताहरु नै प्रश्न गरिरहेका छन् । यसबारे के भन्नु हुन्छ ? 

नेता, कार्यकर्ताले हामीलाई जुन प्रश्न र गुनासो गरिराखेका छन्, त्यो सही छ । म आफै पटक पटक सांसद र मन्त्री भएँ । हामीले जनतासमक्ष जुन वाचा गरेका थियौँ, त्यो पुरा गर्न सकेका छैनौँ ।

तपाईं आफै हेर्नुस्, मधेसमा पार्टीको अवस्था किन यस्तो भयो ? पश्चिम तराईमा किन नागरिक उन्मुक्ति जस्ता पार्टीको उदय भयो ? यी सबै हाम्रै आँखा अगाडि छन् । ती इतिहास होइन, वर्तमानमा भएका हुन् ।

पहिला माओवादीको पक्षमा मधेस, थरुहट सबै एकै साथ र एकजुट हुने अवस्था थियो । माओवादीले आह्वान गर्दा जनताले साथ दिए र जनतामा जनलहर आएकै हो ।

तर यो देशमा जब दुई प्रकारका नागरिक हुन थाले । त्यो यो पार्टीमा पनि दुइ खालका नागरिक रुपमा देखिन थाल्यो । पार्टीमा एकथरी मान्छेहरु हालीमुहाली गरिराख्ने भए । जसको पहुँच छ, उसले आफूभन्दा अरुलाई नदेख्ने भयो । जसको पहुँच छैन, त्यस्ता मान्छेको कुरासमेत सुन्ने फुर्सद भएन । जसले गर्दा सोचे जति काम हुन सकेन । चुनावको जे जस्तो परिणाम आएपनि सरकार गठनमा अध्यक्षले पहल लिनु भएको छ । उहाँले केही गर्छु भन्ने आत्मविश्वास लिएर अघि बढ्नु भएको छ ।

अब अध्यक्ष कमरेडले २ महिनापछि केन्द्रीय समिति बैठक बोलाएर यावत् समस्या हल गर्ने कुरा गर्नु भएको छ । अब हेर्दै जाउँ पार्टी र आन्दोलन कसरी अगाडि बढ्छ ?

त्यसो भए माओवादी नेतृत्वको सरकार भएपछि जनयुद्धमा सहिद, बेपत्ता, घाइते, अपाङ्ग लगायतको हकमा केही महत्वपूर्ण काम हुन सक्छ भन्ने आशा गरौँ ?

सबैभन्दा पहिले जनयुद्धमा लागेर ज्यान गुमाएकाहरु सहिद घोषणा हुनुपर्‍यो । राज्यले राष्ट्रिय सहिद घोषणा गर्न पहल गर्नुपर्छ । सहिद परिवारलाई रकम दिएर मात्रै सम्मान हुँदैन । सहिदको सम्मान भएमा राम्रो हुनेछ । घाइते अपाङ्गलाई आर्थिक उपार्जनको व्यवस्थासहित आवासको व्यवस्था गरिनुपर्छ ।

चुनावको जे जस्तो परिणाम आएपनि सरकार गठनमा अध्यक्ष कमरेडले पहल लिनु भएको छ । उहाँले केही गर्छु भन्ने आत्मविश्वास लिएर अघि बढ्नु भएको छ ।

सामूहिक स्वार्थ र पार्टीलाई हित हुने गरी आलोचना र अडान लिनुपर्छ ।

हाम्रो पार्टीको नेतृत्वको सरकार छ । विचार मिल्ने र संघीयता विरोधीहरु समेत सरकारमा छन् । यस्ता संघीयता विरोधीहरुलाई सरकारमा राखेर केही हुनेवाला छैन । उनीहरु यो व्यवस्था बिफल बनाउन प्रयासरत छन् । यस्ता परिवर्तन विरोधीहरुलाई सरकारमा राखेर कसरी सही नतिजा निकाल्न सकिन्छ ? त्यसमा पार्टीले सोच्नुपर्छ ।

माओवादी पार्टीभित्र कुनै समय ठूला ठूला बहस र छलफल हुन्थे । पार्टी नेता, कार्यकर्ता अध्ययनशील र आलोचनात्मक थिए । तर, अहिले सबै हराएर किन प्रचण्ड चले चल्ने, नभए केही नहुने अवस्था आयो ?

हामी केही नपाउँदा आलोचना गर्छौँ । यदि पाइयो भने चुपचाप लागेर बस्ने र अडानै नराख्ने खालका भयौँ । यस्ता खालका प्रवृत्ति पार्टीमा जबर्जस्त रुपमा स्थापित छ । यस्तो भएपछि नेतृत्वलाई नपाउँदासम्म कराउँदो रहेछ, पायो भने चुप लाग्दो रहेछ भन्ने पर्छ । त्यसो गर्नु हुँदैन ।

सामूहिक स्वार्थ र पार्टीलाई हित हुने गरी आलोचना र अडान लिनुपर्छ । पार्टीमा बहस र छलफल नहुनु आलोचनात्मक चेत हराउनुका साथै पार्टी र आन्दोलनका लागि हितकर हुँदैन ।

पार्टी किन वैचारिक रुपमा अस्पष्ट र सांगठनिक रुपमा भद्रगोल हुँदै गयो ?  

अहिलेको संसदीय राजनीतिमा सबै पार्टी विग्रिसकेका छन् । हामी विग्रिने दौडमा छौँ । यदि हामी सचेत भई करेक्सन भएमा रुपान्तरण हुने सम्भावना छ । यसरी करेक्सन हुँदा हामी नै पहिलो पार्टी हुने अवस्था छ ।

अझै पनि माओवादीप्रति जनता आशावादी छन् । यो देशको परिवर्तन माओवादीले ल्याएकाले अवस्था पनि माओवादीले परिवर्तन गर्छ भन्ने अपेक्षा छ । त्यसैले, माओवादी पार्टी रुपान्तरण गरेर जनताको आशा र भरोसाको केन्द्र बनाउनै पर्छ ।

अर्को कुरा अहिले माओवादीकै एजेण्डामा देश चलेको छ भन्ने सबैले स्वीकार गरेको विषय हो । त्यसैले, क्रान्तिकारी विचारलाई विकास गर्दै जनताको बीचमा जानुको अर्को विकल्प छैन ।

अब जनयुद्धमा त्याग तपस्या गर्ने हजारौ सहिद, बेपत्ता, घाइते अपाङ्गहरुको सपना साकार पार्न पार्टीलाई कसरी रुपान्तरण गर्दै लग्नु हुन्छ ? 

अब पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ । त्यो बैठक बस्न लागि बैठक मात्रै हुन्छ कि अरु केही गर्नका लागि हुन्छ हेर्नुपर्छ । पार्टीको केन्द्रीय समिति आवश्यकता भन्दा ठूलो भयो । यति ठूलो कमिटीमा पार्टी रुपान्तरणको बहस छलफल हुने अवस्था छैन ।

चिनियाँ कम्युनिस्ट पार्टीको ९ करोड ६० लाख पार्टी सदस्य छन् । यति धेरै पार्टी सदस्य भएको केन्द्रीय कमिटीमा २०५ जना फुल कमिटी छ । यति सदस्य भएको पार्टीमा २०५ जना केन्द्रीय फुल कमिटी नगन्य मात्रामा हो ।

यता हाम्रो पार्टी सदस्य ८ लाख छन् । चुनावमा भोट ११ लाख आयो । यस्तो लाजमर्दो अवस्था छ । एक पार्टी सदस्यले एक सक्रिय कार्यकर्ता बनायो भनेपनि कम्तीमा ४० लाख मत आउनुपर्ने हो ।

त्यसैले, पार्टी भनेको पार्टी नै हो । यदि पार्टी नै बनेन भने केही हुनेवाला छैन । पार्टी सदस्यले गर्नुपर्ने कर्तव्य हो के के भन्ने थाहा छैन । पार्टी सदस्य नै जनवर्गीय संगठनमा जोडिएर सक्रिय छैनन् । यस्तो अवस्थामा पार्टी बलियो र व्यवस्थित हुन सक्दैन ।

हामी एउटा निर्णय गर्छौ । निर्णय हेर्दा राम्रो हुन्छ । तर भोलि पल्टदेखि कार्यान्वयन हुँदैन

तर, पार्टी बनाउन नेताहरु नै लागेनन् । नातावाद, कृपावादमा लागे भन्ने गुनासो पनि छ नि ? 

हामी पार्टी बनाउन लागेकै छैनौँ, कुरा मात्रै गरिरहेका छौँ । म त्यो स्वीकाछु । लाग्नेहरुले परिणाम निकालिरहेका होलान् । म साँच्चिकै पार्टी बनाउन लाग्या छैन ।

माओवादी नातावाद, कृपावादमा फस्दै गएको भन्ने गर्छन् । अरु पार्टीमा प्रश्न उठाउन मिल्छ । तर, माओवादीमा नातागोताले मात्रै अवसर पाए भन्न मिल्दैन । सिंगो परिवार नै जनयुद्धमा लागेका थिए । एउटै परिवारका ५/६ जनासम्म सहिद भएका छन् । अनि अवसर पाउने बेलामा नातावाद कृपावाद भन्न मिल्दैन ।

पार्टी आन्दोलनमा नलागेको व्यक्तिले अवसर पायो भने नातावाद भन्न सकिन्छ । जो आन्दोलनमा लागेका थिए, तिनलाई परिवारवाद भन्न मिल्दैन । पार्टीमा खटेको छैन भने मात्रिकाको श्रीमतीलाई समानुपातिकमा हाल्ने जस्तो गल्ती गर्नु हुँदैन ।

हाम्रो एउटा समस्या छ । हामी एउटा निर्णय गर्छौ । निर्णय हेर्दा राम्रो हुन्छ । तर भोलि पल्टदेखि कार्यान्वयन हुँदैन । धार्मिक महोत्सवहरुमा प्रवचन हुन्छ । यो गर्ने, त्यो गर्ने नैतिकवान बन्ने चरित्रवान बन्ने आदि बन्ने हुन्छ । त्यो प्रवचनबाट उठेर गएपछि आफ्नो पुरानै धन्दा गर्छन् । हाम्रो पार्टीको हालत पनि उस्तै छ ।

एउटा व्यापक आन्दोलनको सिर्जना गरेर एउटा रुपान्तरणको अभियान सुरु गरौँ । त्यो हामी आफैँबाट गरौँ ।

पार्टीको गुट भत्काउने पार्टीलाई विधिमा चलाउने निर्णय हुन्छ । बैठक सकिएलगत्तै आ–आफ्नो गुटलाई कसरी बलियो बनाउने भनेर बैठक बस्छ । रुपान्तरण भन्ने मात्रै हो । पार्टीमा जे मन लाग्छ, त्यहीँ गर्ने प्रवृत्ति मौलाउँदै गएको छ ।

तपाईंहरुले देशको व्यवस्था परिवर्तन गर्यौँ भन्नुहुन्छ, अब जनताको परिवर्तन कहिले हुन्छ ?

मैले अघि भनिसके । जनयुद्ध दिवसका अवसरमा फागुन १ गतेदेखि नेता कार्यकर्ता सबैले प्रतिवद्धतता गरौँ । व्यवस्था परिवर्तन गरियो, अब अवस्था परिवर्तन गर्नतिर लागौँ भनेर लागेमा सम्भव छ । हामीले प्रतिवद्धतता व्यक्त गर्ने वित्तिकै चमत्कार हुँदैन तर चमत्कार हुने चरणतिर जान्छ ।

अन्तिममा, यो २८ औं जनयुद्ध दिवसको उपलक्ष्यमा सहिद, बेपत्ता, घाइते अपाङ्ग, नेता, कार्यकर्ता, शुभचिन्तक लगायतलाई के सन्देश छ ? 

मैले सहिद, बेपत्ता, घाइते अपाङ्ग परिवारलाई के भन्न चाहन्छु भने सबैले क्रान्ति बुझेका छौँ । तपाईंहरुकै वलिदान र संघर्षले यो अहिलेको परिवर्तन ल्याउन सम्भव भएको हो । अब हामीले क्रान्तिको प्रक्रियालाई आत्मसाथ गरौँ ।

एउटा व्यापक आन्दोलनको सिर्जना गरेर एउटा रुपान्तरणको अभियान सुरु गरौँ । त्यो हामी आफैँबाट गरौँ ।

अहिले हाम्रो पार्टीको नेतृत्वको सरकार छ । हामीले जनयुद्धमा जुन वचनवद्धतता गरेका थियौँ, त्यो अभियानको थालनी गरेमा हामी बाटो बिराएकाहरु ठिक ठाउँमा आउन सक्छौँ । त्यस आन्दोलनले नै यो देशको राष्ट्रियता जगेर्ना गर्नुका साथै देशको आर्थिक समृद्धिको अभियान अगाडि बढ्ने भन्ने विश्वास व्यक्त गर्दछु ।

अन्तर्वाता राताेपाटी डटकमबाट साभार गरिएकाे हाे 

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content